

कर्णालीमा हवाई सेवा थपिने, उडान अनियमितता रोक्न अनलाइन टिकट

काठमाडाैं – वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरूलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ ।
मंगलवार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा वायुसेवा सञ्चालक संघ नेपालले वायुसेवा कम्पनीहरूसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरूलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिबद्धता जनाएको हो ।
छलफलमा बोल्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णाली प्रदेशमा वर्षाको कारण सडक मार्ग अवरुद्ध हुँदा हवाई उडानमा देखिएको विद्यमान समस्या समाधान गर्न निजी वायुसेवा सञ्चालकहरूसँग भएका जहाजको उडान थप गर्ने प्रतिबद्धता जनाए ।
उनले विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई कर्णाली प्रदेशमा हुम्ला, जुम्ला र डोल्पाबाट नजिकैको विमानस्थलमा उद्धार गर्ने तयारी गरेको बताए । उनले कर्णालीको हवाई उडान समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले सहकार्य गर्नुपर्ने बताए ।
क्याप्टेन थापाले सरकारले कर्णालीका विमानस्थलहरूमा अलपत्र नागरिकहरूको उद्धारको लागि नेपाल एयरलाइन्स र नेपाली सेनाको जहाज प्रयोग गर्नुपर्ने बताए । उनले कर्णालीमा हवाई उडानको लागि भइरहेको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति भएको पनि जानकारी दिए ।
‘कर्णाली प्रदेशमा हवाई उडानसम्बन्धी विद्यमान समस्या समाधान गर्न तथा विमानस्थलमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउने वायुसेवा सञ्चालकहरूसँग भएका हवाई जहाजहरूको उडान सही रुपमा प्रयोग गर्ने निर्णय गरेको छौँ । कर्णालीमा देखिएको स्थानीयस्तरको समस्याको लागि सुरक्षाको विषयमा सुरक्षा संयन्त्रसँग समन्वय गर्ने र विमानस्थलभन्दा बाहिर बसेर हवाई उडानमा केही व्यक्तिले गरेका अनियमितता रोक्न विद्युतीय माध्यमबाट इटिकटको व्यवस्था गर्ने निर्णय भयो’, थापाले भने, ‘विमानस्थलमा अलपत्र परेर बसेका नागरिकहरूलाई तत्काल उद्धार गर्न नेपाल सरकारबाट सञ्चालित नेपाल एयरलाइन्स र नेपाली सेनाका केही जहाज पाउनुपर्यो । कर्णालीको मानविय संकट समाधानको लागि सरकार र निजी क्षेत्रको सहकार्यमा गर्ने सहमति भयो । हामीसँग भएका जहाजहरूलाई कर्णालीमा हवाई उडान गर्ने प्रयास गर्छौँ । तत्काल बढी भन्दा बढी एयर क्राफ्टहरूले उडान गरेर डोल्पा, हुम्ला र जुम्लाबाट नेपालगञ्ज वा नजिकको विमानस्थलमा ल्याउने तयारी गरेका छौँ ।’
कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अविरल वर्षाको कारण कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हवाई उडान प्रभावित भएर यात्रुहरू अलपत्र हुँदा मानवीय संकट आउने अवस्था सिर्जना भएको बताए । उनले वर्षको कारण सडक मार्गसमेत अवरुद्ध भइ उडान चाप बढेको बताए ।

