


मध्यरातमा इटहरीका सडक मानवको उद्धार

इटहरी- इटहरीका सडक मानवको उद्धारको काम सुरु गरिएको छ। इटहरी उपमहानगरपालिकाभित्र रहेरका सडक मानवहरूको मध्यरातमा उद्धार गरिएको हो।उपमहानगरपालिकाले विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसहित सोमबार राति सडक मानवको उद्वार गरेको हो।
रातको साढे १२ बजेसम्म इटहरी चोक, गल्ली तथा आसपासमा बस्दै आएका सडक मानवलाई उद्वार गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए।
‘इटहरीका मुख्य चोकहरूमै बिहानैदेखि बेलुका सम्म मानिसले कष्टकर जीवन बिताइरहेका थिए, उनीहरूको पक्षमा इटहरी सरकार छ, त्यसैले उद्वार गरेका हौँ,’ मेयर पौडेलले भने, ‘रातको समयमा इटहरी चोक गल्ली तथा आसपासमा बस्दै आएका उनीहरूको सुतिरहेकै ठाँउबाट उद्वार गरेका छौँ।’
सडक मानवहरूलाई निरन्तर उद्वार गरिने र परिवारसँग पुनःस्थापना गर्ने गरी अभियान थालिएको उनले बताए। उनका अनुसार इटहरीलाई ‘सडक मानव मुक्त सहर’ निर्माण गर्ने उदेश्य रहेकाले अभियान सञ्चालन गरिएको हो। विविध कुराले सडकमा मानिस आउने भएकाले मनोपरामर्शसमेत दिइने मेयर पौडेलले बताए ।
इटहरीको विभिन्न स्थानबाट १२ पुरुष र एक महिला गरी १३ जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उद्धार गरिएका महिलालाई माया घर इटहरी र पुरुषहरूलाई मानव आश्रम विराटनगरमा पठाइएको छ ।
बालबालिकासहित सडक मानवहरू लागूऔषध सेवन गर्ने र चोरी डकैतीका घटनामा संलग्न हुने र कष्टकर जीवन यापन गर्दै आएकाले सुतिरहेकै ठाउँबाट उद्वार गरिएको खड्काले बताए। उद्धारमा इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाले व्यवस्थित तरिकाले व्यवस्थापन गर्ने र उनीहरूलाई सामाजिक रूपमा स्थापित गराउन आफूहरूले भूमिका निर्वाह गर्ने बताए ।
उनका अनुसार राति ८ बजेदेखि सुरु भएको अप्रेसन मध्यराति साढे १२ बजे सम्म चलेको थियो।

