


निर्वाचन सफल बनाउने अभियानमा लाग्न सचिव डा अर्यालको निर्देशन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल बनाउने अभियानमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा आज आयोजित छलफलमा उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउने अभियानलाई सघाउन सरकारी सञ्चार माध्यम तथा यससँग सरोकार राख्ने निकायलाई आग्रह समेत गरे ।
सञ्चारमाध्यमले निर्वाचनसम्बन्धी आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने र सर्वसाधारणलाई यसबारेमा सुचित गराउनुपर्ने सचिव अर्यालले जोड दिए । छलफलमा राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा प्रशारण विभागलगायत मन्त्रालय सम्बद्ध निकायका अधिकारीले निर्वाचनलाई मर्यादित बनाउने विषयमा आ–आफ्नो कार्यालयबाट भरपुर सहयोग हुने प्रतिबद्धता जनाए ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनका समयमा समाचार लेखन तथा सम्पादनका क्रममा अपनाउनुपर्ने तथा कर्मचारीले पालना गर्नुपर्ने विषयमा गत भदौ २६ गते नै स्वनियम बनाएर ७७ जिल्लाकै कर्मचारीसमक्ष पु¥याइएको बताए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बारेमा सरकारी सञ्चार माध्यमबाट भ्रामक तथा भड्किलो खालका प्रचार नहुने बताए ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले सामाजिक सञ्जाल र अनलाइन माध्यमलाई नियमन गर्ने विषयमा यससँग सरोकार राख्ने निकायबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले निर्वाचनसम्बन्धी समाचारलाई सन्तुलित बनाउन र आचारसंहिता पालना गराउने विषयमा संस्थानले छुट्टै संयन्त्र बनाएको बताए ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले निर्वाचनसम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउन कार्यदल गठन तथा सञ्चारकर्मीका लागि तालिमलगायत कार्यक्रम गरिएको जानकारी गराए ।

