

ट्रम्पमाथि लागेको महाअभियोगको सुनुवाई पछि सर्यो

वासिङ्गटन – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्तावमा माथिल्लो सदन सिनेटमा हुने सुनुवाई पछि सरेको छ।
कम्तीमा आउँदो महिना (फेब्रुअरी) सम्म माथिल्लो सदनमा महाअभियोग प्रस्तावमाथिको सुनुवाई सुरु नगर्ने सहमति सिनेटका डेमोक्र्याट र रिपब्लिकनबिच भएको हो ।
तल्लो सदनबाट पारित भएको महाअभियोग प्रस्ताव सभामुख न्यान्सी पेलोसीले आउँदो सोमबार सिनेटमा पठाउने तयारी छ ।
महाअभियोग प्रस्तावमाथि सिनेटमा फेब्रुअरी ८ सम्म सुनुवाई सुरु हुने छैन । ट्रम्पका वकिलहरुलाई आफ्नो रक्षाका लागि तयारी गर्न दुई हप्ताको समय मिलेको छ ।
चुनावको नतिजा उल्ट्याउने प्रयास स्वरुप जनवरी ६ मा ट्रम्पका समर्थकले राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा हिंसात्मक आक्रमण गरेका थिए । हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि कार्यकालमै रहँदा दोस्रोपटक महाअभियोग लागेको हो ।
जनवरी १३ मा तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरेको थियो । जनवरी २० देखि उनी सत्ताबाट बाहिर गए पनि माथिल्लो सदन सिनेटमा महाअभियोगमाथि सुनुवाई हुन बाँकी छ ।
जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका जो बाइडेनको मन्त्रिपरिषदका प्रस्तावित सदस्यहरुको अनुमोदनका लागि समय दिन पनि महाअभियोग प्रस्तावमाथिको सुनुवाई केही पछि धकेलिएको हो ।

