नवौँ राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा तयारी पूरा


कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् ।

खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ । प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल र फेन्सिङ सोमबारबाट सुरु भएको छ ।

प्रतियोगिताका लागि आएका खेलाडीको चहलपहलले यतिखेर पर्यटकीय नगरी पोखरा खेलमय बनेको छ । कूल ३६ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुदमा क्यानोनिङ र छेलोको प्रदर्शनी खेल समेत हुने जनाइएको छ । प्रतियोगिता हुने खेलमध्ये अधिकांश पोखरामा नै हुनेछन् भने अन्य गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा हुनेछन् ।

वि.सं २०३८ देखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकद सम्पन्न गरेको पोखराले चार दशक पछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको हो । आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षकसमेत गरी करिब १० हजार व्यक्ति सहभागी हुने प्रतियोगिता आगामी असोज २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिए ।

गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधार लगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यस पटक कुनैपनि प्रतियोगिता हुने छैनन् ।

प्रतिक्रिया