आगामी निर्वाचनले आर्थिक गतिविधि चलायमान बनाउन सक्दैन : पूर्वगभर्नर नेपाल


काठमाडाैं – निर्वाचन समयमा हुने आर्थिक गतिविधिहरूले मुलुकको अर्थतन्त्रमा समेत २ प्रतिशतसम्म आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ । विगतमा नेपालमा पनि निर्वाचनताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ । निर्वाचनको बेलामा राजनीतिक दलका उम्मेद्वारहरूले निर्वाचन जित्नको लागि अत्याधिक खर्चिने गर्दछन् ।

निर्वाचनमा प्रयोग हुने खाद्य सामग्री र सवारी साधनमा खर्च गर्दा आर्थिक गतिविधि चलायमान बन्छ । निर्वाचनको समयमा आर्थिक गतिविधि बढी चलायमान हुने भएकाले अर्थतन्त्र पनि सोहीअनुसार चलायमान बन्ने आँकलन गरिन्छ । तर, आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा मुलुकको अर्थतन्त्र सुस्तगतिमा अगाडि बढिरहेको छ भने बजारले एक वर्षदेखि तरलता अभाव झेलिरहेकाले पनि मुलुकको अर्थतन्त्र निर्वाचनका कारण खासै सुधार नहुने विज्ञहरू बताउँछन् ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले आगामी मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनले मुलुकको अर्थतन्त्रमा सुधार नहुने बताएका छन् । उनले विगतका निर्वाचनमा भएका आर्थिक गतिविधिले अर्थतन्त्र चलायमान बनाउने गरेको बताए ।

पूर्वगभर्नर डा.नेपालले नेपालमा आगामी मंसिर ४ गते हुने निर्वाचनले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने अवस्था नभएको दाबी गरे । उनले एक वर्षदेखि बजारमा देखिएको तरलता अभाव सहजता हुने आकलन गरिए पनि आगामी निर्वाचनमा बजारमा देखिएको तरलता सहज हुने अवस्था नभएको बताए । उनले बजारमा अत्याधिक तरलताको अभाव, विकास निर्माणको काम तथा नीतिगत निर्णयहरू रोकिने, पूरा हुने आयोजनाहरू पूरा नहुने र चुनावले अर्थतन्त्रलाई प्रेसर दिने भएकाले अर्थतन्त्रमा सुधार ल्याउने अवस्था नभएको बताए ।

‘अन्तर्राष्ट्रिय रुपमा हेर्दा निर्वाचन अर्थतन्त्रले मुलुकको अर्थतन्त्रमा केही फरक पार्ने गरेको छ । २० वर्षको मलेसियाले गरेको अनुसन्धानअनुसार निर्वाचनको बेलामा आर्थिक क्रियाकलाप बढ्नाले १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि पनि भएको देखिन्छ । नेपालको सन्र्दभमा निर्वाचनको बेलामा बैंकहरूमा भएको पैसा बाहिर आउने, सरकारले पनि निर्वाचनको लागि खर्च गर्ने र मानिसहरूले बैंकमा सञ्चित गरेको पैसा पनि खर्च गर्ने भएकाले केही आर्थिक गतिविधि चलायमान हुने मान्यता छ ।

विगतमा देखिएको पनि थियो’ उनले भने, ‘निर्वाचनको बेलामा बजारमा देखिएको तरलता अभाव सहजता हुन्छ की भन्ने हो । तर, अहिलेको निर्वाचनको समयमा बजारको तरलता सहज हुने अवस्था देखिएको छैन । अहिलेको निर्वाचनमा अर्थतन्त्रमा चलायमान बनाउनसक्ने अवस्था छैन । किनकी बजारमा तरलता अभाव छ । सरकारले गर्ने लागेका विकास निर्माणको काम तथा नीतिगत निर्णयहरू पनि रोकिने गर्छन् । पूरा हुने आयोजनाहरू पनि हुँदैनन् । हाम्रो जस्तो देशमा चुनावले अर्थतन्त्रलाई प्रेसर दिने हुन्छ ।’

पूर्वगभर्नर नेपालले आगामी निर्वाचनले बजारको तरलता अभावसमेत तत्कालै समाधन गर्न नसक्ने उल्लेख गरे । उनले यस पटकको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा अघिल्लो निर्वाचनमा जस्तो आर्थिक गतिविधि बढ्नसक्ने अवस्था नरहेको जिकिर गरे ।

‘विगतको निर्वाचनको समयमा भएको आर्थिक गतिविधिले अर्थतन्त्रमा सहज हुन्छ । उत्पादनमा वृद्धि र उपभोग पनि बढ्छ भन्ने हो । अहिले बजारमा एक वर्षदेखि तरलताको अभाव भइरहेको छ । तत्काल तरलता सहज हुने अवस्था छैन । अहिले निजी क्षेत्रले गर्ने आयोजनाहरू पनि बन्द छन् । नयाँ सरकार आएपछि सरकारले बनाउने नीतिगत व्यवस्थाले निजी क्षेत्रको आयोजनाहरूलाई असर पर्ने हुन्छ । यो वर्षको निर्वाचनमा पाँच वर्षअघिको निर्वाचनमा जस्तो आर्थिक क्रियाकलापहरू बढे झैँ अहिले आर्थिक गतिविधि बढ्ने अवस्था छैन’, उनले भने ।

प्रतिक्रिया