मनसुन अझै किन सक्रिय भइरहेको छ?


काठमाडौं- मनसुनी प्रणाली नेपालमा भोलिबाट केही कमजोर हुने भएको छ । मनसुनी प्रणाली कमजोर हुँदा पानी पर्नेक्रम पनि कम हुनेछ । अहिले विशेषतः नेपालको पश्चिमी भागमा भारी वर्षा भइरहेको छ ।

न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै जाँदा पानी पर्ने क्रम पनि कम हुँदै जान्छ । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘अहिले नेपालमा जुन प्रणालीले गर्दा वर्षा भइरहेको छ । त्यो प्रणाली कमजोर हुँदै गइरहेको छ,’ मौसमविद् हीरा भट्टराई भन्छन्, ‘वर्षा गराउने प्रणाली कमजोर हुँदा वर्षा पनि कम हुँदै जान्छ ।’

न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै जाँदा नेपालबाट अब मनसुनी प्रणाली बाहिरिने हो भन्ने जिज्ञासामा उनी भन्छन्, ‘मनसुनी प्रणाली नै बाहिरिन्छ भन्ने होइन तर वर्षा भने कम हुन्छ ।’

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । तर, यो वर्षा अक्टोबर ११ भइसक्दा पनि मनसुनी प्रणाली सक्रिय नै छ । अक्टोबर २ मनसुन बाहिरिने औसत मिति भए पनि यसको केही अगाडि नै बाहिरिने वा पछाडिसम्म पनि यो प्रणाली रहन सक्छ ।

‘मनसुन भित्रिने र बाहिरिने समय औसत मात्रै भएकाले योभन्दा अगाडि वा पछाडि पनि हुनसक्छ । र, यो सामान्य हो,’ मौसमविद् राजु प्रधानाङ भन्छन्, ‘त्यसैले हामीले पूर्वानुमान गरेको औसत मितिभन्दा अगाडि नै मनसुनी प्रणाली बाहिरिन पनि सक्छ र पछाडिसम्म सक्रिय पनि हुनसक्छ ।’ मौसमी प्रणाली कसरी विकास भइरहेको हुन्छ, त्यसमा भर पर्ने उनको भनाइ छ । जुन १३ नेपालमा मनसुन भित्रिने सरदर मिति हो । तर, यो वर्ष जुन ५ मै मनसुन भित्रिएको थियो ।

 

प्रतिक्रिया