

काभ्रेको विभिन्न स्थानमा बम फेला : बनेपाको सेनाद्वारा डिस्पोज, मंगलटारमा विष्फोट

काठमाडौँ – काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा बम फेला परेको छ । फेला परेको बम केही नेपाली सेनाको टोलीद्वारा डिस्पोज गरीएको छ भने केही विष्फोट भएका छन् ।
काभ्रेको बनेपा बुडोलमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । बाटोमा शंकास्पद वस्तु देखेपछि नेपाली सेनालाई खबर गरिएको थियो ।
अनुसन्धानको क्रममा शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको पाइएपछि सेनाको डिस्पोजल टोलीले त्यसलाई डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका ९ मंगलटारमा विष्फोट भएको छ । गएराति बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलटारमा बम विष्फोट भएको हो।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले विस्फोट गराएको आशंका गरिएको छ । सो पार्टीले आज नेपाल बन्द घोषणा गरेको छ।
बम विस्फोट भएसँगै चेकजाँच गरी सवारी पास गर्ने क्रममा बनेपामा सवारी जाम नै परेको छ।
यस्तै, रोशी-८ नार्के स्थित बिपी राजमार्गको बायाँतर्फको लेनमा पनि बम विष्फोट भएको छ। तर, कुनै मानवीय लगायतका क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
अरनिको र बीपी राजमार्गमा सवारीसाधन आवागमन भने अवरुद्ध भएको छ। त्यस्तै लामो रुट हुँदै डाँडापारी र कोशीपारीको ग्रामीण क्षेत्रमा जाने बस चलेका छैनन्।प्रतिबन्धित पार्टीले आह्वान गरेको नेपाल बन्द कार्यक्रमलाई लक्षित गरी गाडीहरू पास गराउन सिन्धुलीबाट ७ जनाको टोली खटिएको छ।

