

केएफसीले कुहिएको फ्राइड चिकेन बेचेपछि… (भिडियोसहित)

काठमाडौं – बहुराष्ट्रिय कम्पनी केन्टुकी फ्राइड चिकेन (केएफसी) मा कुहिएको मासु बिक्री गरेको भेटिएको छ । राजधानीको कलंकीस्थित भाटभटेनी परिसरमा रहेको केएफसीको आउटलेटमा ग्राहकले खान लागेको केएफसी फ्राइड चिकेन कुहिएको अवस्थामा फेला परेको हो ।
अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा रहेको केएफसीको उक्त आउटलेटमा सोमबार दिउँसो पुगेका ग्राहकले अर्डर गरेको चिकेन कुहिएको भेटिएको हो । उक्त चिकेन खान लाग्दा गन्हाएको पनि ती ग्राहकले जनाए ।
चार पिस फ्राइड चिकेन र सिंगल पपकर्न अर्डर गरेका उनले चर्को मूल्य तिरेर पनि कुहिएको मासु दिएकोमा आक्रोश पोखे । उनले भने, ‘१ हजार १ सय ४५ रुपैयाँको बिलमा १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट गरेर जम्मा एक हजार ४ सय २४ रुपैयाँ लियो, खान चाहिँ कुहिएको मासु दियो, यसरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्न पाइन्छ ?’
उपत्यकामा विभिन्न ८ स्थानसहित देशभरका विभिन्न १४ स्थानमा शाखा खोलेको केएफसीले उपलब्ध गराउने चिकेन यसअघि पनि म्याद गुज्रिसकेको अवस्थामा भेटिएको थियो ।
अमेरिकी ब्रान्ड केएफसी नेपालमा सन् २००९ को अक्टोबरदेखि दरबारमार्गबाट पहिलो शाखाको रुपमा भित्रिएको थियो । विश्वकै प्रसिद्ध चिकेन रेष्टुरेन्टका रुपमा सञ्चालित केएफसी अहिलेको अवस्थामा विश्वका १ सय २५ भन्दा बढी मुलुकहरुमा २२ हजार बढी आउटलेटबाट सञ्चालित छन् । हाल नेपालका केएफसी आउटलेटहरुले स्वदेशी चिकेन नै प्रयोग गर्ने गरेको जनाइएको छ ।
अहिले केएफसीले राजधानीको भ्याली कोल्डस्टोरबाट कुखुराको मासु खरिद गर्ने गरेको पनि जनाइएको छ । यसअघि भ्याली कोल्डस्टोरमा पनि बेलाबखत कुहिएको चिकेन भेटिएको भन्ने सञ्चारमाध्यममा आइरहेका बेला अहिले कलंकीको भाटभटेनीसँगै रहेको केएफपसी आउटलेटमा कुहिएको मासु भेटिएको हो ।
यसबारेमा सम्बन्धित आउटलेटका कर्मचारीसँग सम्पर्क गर्न खोज्दा आफूहरुले केही कुरा पनि बताउन नसक्ने जनाएका थिए । विश्वकै चर्चित ब्रान्ड भन्दै महंगो मूल्यमा बेचेर ग्राहकको स्वास्थ्यमाथि खेलवाड गरेको उपभोक्ताको गुनासो छ ।

