टिचिङ अस्पतालको एपबाटै ओपिडि र पेइङ टिकट लिन सकिने


काठमाडौं – त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा स्वास्थ्य उपचारका लागि आउने बिरामीहरूले मोबाइल तथा अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गरिएको छ। कोरोना संक्रमणको अवस्था पछि अस्पतालले बिरामीको सहजताका लागि मोबाइल एप र अनलाइन प्रणालीबाट टिकट लिन सक्ने व्यवस्थाको सुरुवात गरेको अस्पतालका प्रवक्ता राम विक्रम अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार यो सेवा परीक्षणका रुपमा मंसिर महिनादेखि शुरु भएको हो। केही समयको परीक्षणपछि अस्पतालले नियमित रुपमा उक्त सेवा सुरु गरेको बताएका छन् ।

मोबाइल मार्फत टिकट काट्नका लागि बिरामी तथा बिरामीका आफन्तले त्रिवि शिक्षण अस्पतालको ‘टिचिङ हस्पिटल’ नामक एप आफ्नो मोवाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ। उक्त एप खोलेर ‘इटिकटिङ’मा क्लिक गरी टिकट काट्ने तरीकाबारे जानकारी लिन सकिने छ।

अनलाइन मार्फत टिकट काट्न अनलाइन टिकटमा क्लिक गरी विभाग वा रोगको लक्षणमा क्लिक गर्नुपर्ने हुन्छ। आफुलाई देखिएको समस्याहरुमा क्लिक गर्दै गएपछि ओपिडि वा पेइङ सेवा छनौट गर्न सकिन्छ ।

सेवाको प्रकार छनौट गरी जनरल ओपिडीमा, डाक्टर वा मिति अनुसार युनिट छनौट गर्नुपर्ने हुन्छ। त्यसपछि बिरामीले पात्रोमा गएर मितिमा क्लिक गरी आफ्नो व्यक्तिगत डेटा फारम भरी भुक्तानी गर्ने मध्यम छनौट गरी विवरणहरु निश्चित गर्नुपर्ने हुन्छ।

अनलाइन सिस्टमले व्यक्तिले दिएको विवरण प्रमाणिकरण गरी टिकट बुक भएको पुष्टिसहितको विवरण पिडिएफमा देखाउँछ । उक्त पिडिएफ फाइललाई सम्भव भए आफैंले प्रिन्ट गर्ने र सम्भाव नभए ओपिडिमा ल्याएर चिकित्सकलाई दिने वा ओपिडिमा भएका स्टाफलाई देखाउन सक्नेछन्।

अस्पतालका प्रवक्ता अधिकारीका अनुसार यसरी अनलाइनबाटै टिकट लिन चाहने व्यक्तिले इसेवा, प्रभु पे, आइएमी र खल्ती एपको माध्यमबाट पैसा तिर्न सकिने व्यवस्था गरिएको छ। अस्पतालमा दैनिक एक हजारभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन्।

प्रतिक्रिया