नेकपा विवादमा चम्किए कालीबहादुर खाम, प्रचण्ड भन्छन्– आमाको दूध चुसेर भएन, बाउको घुँडो


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजन र प्रतिनिधि सभा विघटनविरुद्धका सभालगायतका विषयमा माओवादीका जनमुक्ति सेनाका पूर्वकमान्डर कालीबहादुर खाम चम्किएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य कस्दै खोई कहाँ छन् कालीबहादुर खामहरू? संरक्षण गरेका छन् ? भनेर टिप्पणी गरेका थिए। त्यसको जवाफ दिँदै शुक्रबार राजधानीमा भएको आम सभामा प्रचण्डले भने,‘उसको मुद्दा मिलाउनका निम्ति मैले काम गरिरहेको छु।’

प्रचण्ड यतिमा रोकिएनन् ओलीप्रति कठोर टिप्पणी गर्दै उनले भने,‘जसलाई मैले १० बर्षसम्म स्कुलिङ गराएर युद्धमा कमान्डर बनाएँ अब तिनको रक्षा ओलीले गर्ने अरे। सुन्दै अचम्म लाग्छ। आमाको दूध चुसाएर भएन बाउको घुँडो?’

उनले यो तीन बर्षमा ओलीलाई तह लगाउन नसकिएको बताए। भने,‘ओलीलाई सच्याउन, तह लगाउन सकिएन। जनसमुदायलाई साक्षी राखेर भन्छौं केपी प्रवृत्तिलाई सहयोग गर्ने भूल गर्ने छैनौं। शान्ति प्रक्रिया पनि विघटन गर्न खोजेका छन्।’

प्रचण्डले सम्बोधनका क्रममा सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि नरम प्रकारको धम्कीपूर्ण भाषा प्रयोग गरेका छन्। उनले प्रतिनिधि सभा विघटनलाई सदर गराउने सेटिङको चर्चा सुनेको बताउँदै भने,‘षडयन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ सुरु हुन्छ। अदालतले काठमाडौंका सडकमा जनताको उपस्थिति देखेको छ, निर्वाचन आयोगले पनि देखेकै होला। यदि त्यस्तो भयो भने हिंसात्मक त नभनौं तर शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी आउँछ।’

प्रचण्डले ओली पक्षले भनेको साइबर सेनालाई ‘साइबर स्यालहरू’को संज्ञा दिए।  ओली अहिले एक नम्बरमा आफूलाई सिध्याउने खेलमा लागेको बताएका उनले भने,‘केही पूर्वमाओवादीहरुले खरानी घसेको देखेर म त छक्क परेको छु। ति भगौडा अहिले ओलीतिर छन्। ओली अहिले एक नम्बरमा प्रचण्डलाई सिध्याउने खेलमा छन्।’

ओलीको कदम सदर भयो भने शान्ति प्रक्रिया भंग हुने प्रचण्डको चेतावनी थियो।

प्रतिक्रिया