

शोकमा डुब्यो जलबाङ गाउँ, रोकिए चाडपर्व र सांस्कृतिक कार्य

सल्यान – हिन्दुहरूको महान पर्व दसैं-तिहारका बेला गाउँ र सहरमा चहलपहल बढेको छ । कतै घर रंगाइरहेका छन् त कतै पिङ राख्दै छन् । कतै दसैं महोत्सव पनि सञ्चालन भइरहेका छन् । सल्यानको कपुरकोट गाउँपालिका ५ जलबाङ गाउँ भने यतिबेला सुनसान देखिएको छ ।
दुई दिनअघि मात्र विवाहमा भोज खाएर फर्केने क्रममा कपुरकोट गाउँपालिकाको मुलपानी नजिकै रा १ ज ५६३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एकै गाउँका नौ जनाको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ ।
शोकका कारण गाउँका सबैले चाडपर्वलगायत उल्लासमय सांस्कृतिक कार्य रोकेका छन् । उनीहरूले आफ्नो घरमा दसैं समेत भित्र्याउन सकिरहेका छैनन् । घरमा रंग लगाउन थालेकाले त्यत्तिकै छाडेका छन् भने अन्य मनोरन्जनका कार्यक्रम रोकिएका छन् । गाउँमा चहलपहल घटेको छ । एकै गाउँका नौ जनाले ज्यान गुमाएपछि चाडपर्वको बेला कोही खुसी छैनन् ।
पीडितका परिवार बाहेक अन्य स्थानीयहरू पनि दसैं मनाउनेबारे अन्योलमा छन् । दुर्घटनामा परेर एकै गाउँका धेरैले दसैंको मुखैमा अकालमा ज्यान गुमाएपछि बढी पीडा दिएको स्थानीय दलबहादुर पुनले बताए । पीडाकै कारण यसपटक दसैं हर्षोल्लास नहुने उनले बताए ।
‘बस्तीका नौ जनाको दुर्घटनामा मृत्यु भएको छ । पीडित परिवारका आँशु रोकिएका छैनन् । सबैको मनमा पीडा भरिएको छ । पीडित परिवारलाई देखाएर हामीले मात्रै कसरी मनाउन सक्छौं दसैं,’उनले भने ‘मैले दसैंमा पूजाआजा गरे पनि घरमै सीमित गर्ने निर्णय गरेको छु ।’ पूरै बस्ती शोकमा भएकाले अधिकांशले दसैंको तयारी गर्न नसकेको पुन बताउँछन् ।
कपुरकोट गाउँपालिका ६ कै वडाअध्यक्ष श्याम बोहराले दुर्घटनापछि मृत्यु भएकाको सामूहिक रुपमा गरिएको अन्तेष्टिले झन् धेरैले पीडा दिएको बताए । शोक मनाउन गाउँलेहरू मात्रै नभएर पालिका र वडाले पनि मनोरञ्जनात्मक कार्यक्रम रोकेको बोहराले बताए । पीडित परिवारका आँशु नथामिएपछि घरमै गएर सान्त्वना दिने काम गरिरहेको उनले बताए ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले यसपटक पीडित बाहेकका परिवारले दसैं पर्व मनाए पनि हर्षोल्लास नहुने बताए । बोलेरो जिप दुर्घटनामा एकै बस्तीका नौ जनाले ज्यान गुमाएपछि दुर्घटनाबारे अनुसन्धान भइरहे पनि कसको लापरबाहीका कारण दुर्घटना भयो भनेर छुट्याउन गाह्रो भएको अध्यक्ष पुनले बताए ।

