

‘जालझेल गरेर भएपनि आफूले जित्ने निश्चित नभएसम्म ओलीले चुनाव गराउदैनन्’

काठमाडौं — पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेता घनश्याम भुसालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले देश नचल्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा नेता भुसालले यतिबेला सबैले प्रधानमन्त्री ओलीले सबैतिर सेटिङ मिलाएका छन् भनेर भन्ने गरे पनि त्यसो हुन नदिइने बताएका हुन् ।
नेकपा प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय नसच्चाए जनताले चाँडै इतिहासको कठ्घरामा उभ्याउने चेतावनी दिएका छन् । ‘यो उपस्थितिलाई साक्षी राखेर म कमरेड ओलीलाई भन्छु– तपाईं गलत हुनुहुन्छ । समय हुँदै सोच्नुस् । यदि तपाईंले सोच्नुभएन भने इतिहासको कठघरामा पुर्याइनेछ’, भुषालको भनाइ थियो ।
भुसालले सम्बोधनका क्रममा भने, ‘अब केपी ओलीका जालझेल र षड्यन्त्रलाई कुनै हालतमा पूरा हुन दिइनेछैन । सबैले केपी शर्मा ओलीले सेटिङ गरिरहेका छन् भन्ने गरेका छन् । तर अब केपी ओलीको सेटिङले देश चल्दैन, सेटिङ त जासुसी उपन्यासहरूमा मात्र सफल हुन्छ ।’ ‘२१औं शताब्दीमा सेटिङ मिलाएर अदालतलाई दबाउन सकिन्छ भन्ने भ्रम पाल्नु भएको छ भने कमरेड ओली तपाईंले गलत गर्दै हुनुहुन्छ । यसै कारण तपाईं भोलि पराजित हुनुहुनेछ,’ भुसालले भने ।
‘संविधानलाई बन्धक बनाएर केपी ओली तान्डव नाच्दै हुनुहुन्छ । विभिन्न जालझेल गरेर भए पनि आफूले जित्ने निश्चित नभएसम्म केपी ओलीले चुनाव गराउनुहुन्न । कसैले चुनावको अपेक्षा गरेका छन् भने त्यो भ्रम हो । चुनाव हुनेवाला छैन ।’ उनले भने ।

