

मेस्सीको दुई गोलमा जमैकामाथि अर्जेन्टिनाको जित

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले जमैकामाथि ३–० गोल अन्तरको जित हात पारेको छ।
बुधबार भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सीले दुई गोल गरे। उनले खेलको ८६ औं र ८९ औं मिनेटमा गोल गरेका हुन्। यसअघि खेलको १३ औं मिनेटमा नै जुलियान अल्भारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
जमैकाविरुद्ध दुई गोल गरेसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने तेस्रो खेलाडी बनेका छन्। उनले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाको लागि ९० गोल गरेका छन्।
यो सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सबैभन्दा अघि छन्। उनले ११७ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका इरानका अलि डाइएले १०९ गोल गरेका छन्।

