चिकित्सा शिक्षाको विकासमा सिपिएसपीको भूमिका महत्वपूर्ण : स्वास्थ्यमन्त्री खापुङ


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा विकासमा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तान (सिपिएसपी)ले गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तानको ५५औँ दीक्षान्त समारोहमा मन्त्री खापुङले नेपाली चिकित्सक र सिपिएसपीको सुमधुर सम्बन्ध कायम रहेको बताए ।

उनले भने, ‘सिपिएसपीले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सेवा प्रदान गरेको छ, जसले गर्दा विदेश जाँदा हुने खर्च र आवासीय खर्चको बचत भएको छ । सिपिएसपीद्वारा प्रशिक्षित धेरै नेपाली चिकित्सकहरूसँग भेट गर्दा उहाँहरू सकारात्मक रहेको र सिपिएसपी फेलोसिप कार्यक्रमको गुणस्तरीय प्रशिक्षण र परीक्षाको सेवाप्रति प्रशिक्षार्थी सन्तुष्ट रहेको पाएको छु ।’

मन्त्री खापुङले विशेषगरी नेपालमा स्नातकोत्तर चिकित्सा शिक्षालयको प्रवद्र्धनका लागि प्रदान गरिएका सेवाप्रति पाकिस्तानका चिकित्सक र शल्य चिकित्सकलाई आभार प्रकट गर्नुभएको थियो । नेपालमा स्नातकोत्तर मेडिकल तालिम र शिक्षालाई व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयको जिम्मेवारी थपिएको भर्दै उनले यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

सिपिएसपीका अध्यक्ष प्रोफेसर मुहम्मद सोएब सफीले उच्च चिकित्सा शिक्षाको उत्कृष्टतामा ध्यान दिँदै प्रशिक्षणमार्फत पारदर्शी परीक्षा सञ्चालन गर्दै विश्वमा गुणस्तरीय वैज्ञानिक शिक्षा प्रदान गर्ने बताए । सिपिएसपीलाई विश्वमा अन्तर्राष्ट्रिय तालिम र सल्लाहकार केन्द्रका रूपमा मान्यता दिइने शैक्षिक संस्था बनाउने योजना रहेको जनाउनुभएको थियो । देशभित्र र विदेशमा स्नातकोत्तर चिकित्सा शिक्षाको अग्रगामी संरक्षक भएको दाबी गरे ।

दीक्षान्त समारोहमा ४५ नेपाली प्रशिक्षार्थी उपस्थित भएका थिए । जसमा डा दीनुज श्रेष्ठ, डा राजेशबहादुर लाखे र टुके काजी गोल्डमेडलबाट सम्मानित भएका थिए ।

सिपिएसपी कलेज पाकिस्तानी संसद्को एक अधिनियममार्फत र वाजिद अली खान बुर्की, तत्कालीन सङ्घीय स्वास्थ्यमन्त्रीको नेतृत्वमा पाकिस्तानमा ५० प्रख्यात चिकित्सकको अथक प्रयासद्वारा सन् १९६२ मा स्थापित भएको हो । सन् १९६५ मा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तानको पुस्तकालय स्थापना भएको थियो । यसको स्थापनादेखि नै नवीनतम् चिकित्सा साहित्यहरू प्राप्त गरेको छ र स्नातकोत्तर चिकित्सा शिक्षालाई समर्थन गर्ने केन्द्रबिन्दुका रूपमा सेवा प्रदान गर्दै आएको शैक्षिक संस्था हो ।

प्रतिक्रिया