‘सरकारले पुस ५ गतेकै मिति राखेर बिहीबार राजपत्र प्रकाशन गरेको हो’


काठमाडौं – महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । विहिबारको इजलासमा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए ।

त्यसपछि इजलासले महान्यायाधीवक्तालाई राजपत्र छ कि छैन भनेर प्रश्न गरेको थियो । आज शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गरेका हुन् । महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि अनिलकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको बताएका थिए । उनले भने, ‘हिजो मैले राजपत्रका कुरा उठेपछि मागेको थिए । मेरो पीएलाई पनि खोज्न लगाए अनलाइनमा तर भेटिएन ।’

सरकारले बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो । महान्यायाधिवक्ताले शुक्रबार इजलासलाई राजपत्र दिँदै आफू कामविशेषले हिजो अफिस फर्केको बताए । सरकारले पुस ५ गतेकै मिति राखेर राजपत्र प्रकाशन गरेको हो ।

बिहानै महान्यायाधिवक्ता कार्यालयमा डाकिएको आपत्कालीन बैठकपश्चात त्यहीँबाट मुद्रण बिभागलाई निर्देशन दिएर रास्ट्रपति कार्यालयले जारी गर्ने प्रतिनिधि सभा विघटनसम्बन्धी सूचनाको भाषासमेत टिपाई वेवसाइटमा पुस पाँच गतेकै मितिको नोटिस निकालिएको छ । यो अदालतलाई छल्ने राम्रो उपाय हो भनिन्छ । ब्याकडेटमा प्रमाण घुसाउन मिल्ने नमिल्ने यसको छिनोफानो निस्कन बाकी नै छ ।

प्रतिक्रिया