

कोटेश्वर-जडिबुटी विस्तारित लेनको बाँकी खण्ड तुरुन्तै कालोपत्रे हुने

काठमाडौं – कोटेश्वरबाट जडिबुटीतर्फ जाने विस्तारित लेनको बाँकी खण्ड तुरुन्तै कालोपत्रे हुने भएको छ । काठमाडौं सडक डिभिजन कार्यालयले सो लेनलाई स्थायी रुपमा खुलाउनका लागि बाँकी काम गर्न ‘फास्ट ट्र्याक’ विधिबाट ठेक्का लगाउने भएको हो ।
डिभिजन प्रमुख नारायण निहुरेका अनुसार ५ वटा कम्पनीले यो कमका लागि टेन्डरमा भाग लिएका छन् । टेन्डरका लागि ३० दिने सूचना निकाल्नुपर्नेमा ७ दिन, आशयपत्र प्रकाशित भएपछि दिनुपर्ने सात दिनलाई २ दिन र सम्झौतामा लागि १५ दिन दिनुपर्नेमा ३ दिन सयम दिएर ठेक्का लगाउन लागिएको उनले बताए ।
काठमाडौं महानगरपालिकाले यो लेनमा रहेको अवरोध डोजर लगाएर हटाएपछि टेन्डर आह्वान भएको थियो । अदालतले मुआब्जा दिने फैसला गरेपनि २६ भदौमा महानगरपालिकाले डोजर लगाएर यो खण्डमा रहेको एउटा पुरानो घर हटाइदिएको थियो ।
कोटेश्वर चोकको जाम घटाउने उद्देश्यले विस्तार गरिएको सडकको एकतर्फको लेन पार्किङ बनेको थियो । विभागले धेरैजसो त्रिभुवन विमानस्थलसँग नै जग्गा लिएर सडक विस्तार गरेको हो । यो कालोपत्रे भएपछि कोटेश्वर क्षेत्रमा जामको समस्या कम हुने अपेक्षा गरिएको छ ।

