हट्यो सार्वजनिक जग्गामा अनधिकृत रूपमा निर्माण गरिएको ड्राइभिङ सेन्टर


काठमाडौं – काठमाडौं महानगरपालिकाले माछापोखरीमा तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटाएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौं –१६ माछापोखरी क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको गुरुङ ड्राइभिङ सेन्टर हटाएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गामा ड्राइभिङ सेन्टर निर्माण गरी भाडामा सञ्चालन गरेको पाइएकाले नगर प्रहरीको टोलीले हटाएको जानकारी दिए । त्यस क्षेत्रमा रहेको १७ रोपनी सार्वजनिक जग्गामध्ये तीन रोपनी क्षेत्रफलमा ड्राइभिङ सेन्टर सञ्चालन गरिएको थियो ।

यस्तै, नगरप्रहरीको टोलीले माछापोखरी क्षेत्रको फुटपाथ बजार समेत हटाएको छ । यसअघि आजै नगरपालिकाको टोलीले सोह्रखुट्टे चोकदेखि म्हैपी जाने सडकमा अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाएको थियो ।

महानगरपालिकाले यसअघि न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चावहिल, नयाँ बसपार्क क्षेत्रमा नक्सा विपरीत अनधिकृतरूपमा बनाइएका संरचना हटाइसकेको छ ।

प्रतिक्रिया