मनास्लु आरोहणका लागि ३३७ जनाले लिए अनुमति


गोरखा- यो बर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत बुधबारसम्मको तथ्यांक अनुसार २९ टोलीका तीनसय ३७ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।
विभागबाट अहिलेसम्म कूल ३६ टोलीका तीनसय ६४ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका तीनसय ३७ आरोही रहेको विभागले जनाएको छ ।

यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट चार करोड ३३ लाख १२ हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको पर्यटन विभागले जनाएको छ । त्यसमध्य मनास्लुका आरोहीबाट मात्र तीन करोड ८६ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

गोरखाको चुमनुब्री १, सामागाउँमा रहेको आठ हजार एक सय ६३ मिटर उचाईको मनास्लुमा केही बर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको हो । अहिले मनास्लु बेसक्याप नजिकै रहेको सामागाउँ आरोही र उनीहरुका सहयोगीले खचाखच भरिएको स्थानीय होटल व्यवसायी मिङ्मार लामाले जानकारी दिए ।

कोभिडका कारण लामो समयसम्म धरासायी भएको व्यवसाय तंग्रिन थालेपछि व्यवसायी खुशी भएको उनले बताए ।
अन्य हिमालको तुलनामा मनास्लु हिमाल आरोहण गर्न कठिन रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का प्रमुख सत्यनारायण झाले जानकारी दिए ।

‘मनास्लु अरु हिमाल जस्तो ‘क्राउड’ छैन । साहसिक आरोहण गर्न चाहनेको रोजाईमा मनास्लु पर्ने गर्छ’, उनले भने, ‘त्यसैले केही बर्ष यता तुलनात्मक रुपमा मनास्लु आरोहण गर्न आउनेको संख्या बढेकै छ ।’ बहराइन र कतारका राजकुमार, राजकुमारीहरुले आरोहण गरेका कारण पनि मनास्लुको राम्रो प्रचार भएको उनको भनाइ छ । ‘केही बर्षयता मनास्लुको राम्रो प्रचारप्रसार भइरहेको छ’, उनले भने, ‘अझै यसको प्रवद्र्धन हुँदै जानेछ ।’

मनास्लु हिमाल संसारको आठौँ र नेपालको सातौं अग्लो हिमाल हो । यसलाई किलर माउन्टेनका रुपमा पनि चिनिन्छ ।
मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घण्टाको पैदल दुरीमा रहेको छ । बेसक्याम्प गाउँ नजिकै रहनुले पनि आरोहीको रोजाइमा पर्ने गर्छ । आरोहीहरुले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गर्छन् ।
सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया