

इन्द्रजात्रा अवलोकन गर्न बोलाइएका पाहुनालाई महानगरले गर्यो बिदाइ

काठमाडौं – इन्द्रजात्रा अवलोकन गर्न बोलाइएका पाहुनालाई काठमाडौँ महानगरपालिकाले बिदाइ गरेको छ।
जात्राको अवलोकन, बसन्तपुर, हाँडीगाउँसहित भक्तपुर, ललितपुर र कीर्तिपुरको सम्पदा पद यात्रा, आन्तरिक भेट तथा छलफलसहित कार्यक्रम समापन गर्दै उनीहरुको विदाइ गरिएको हो।
विदाइ अवसरमा राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरिएको थियो। त्यस अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले, पर्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका कामको प्रशंसा गरेका थिए।
मन्त्री श्रेष्ठले भने,‘जात्राको गरिमा बढाउन महानगरले गरेका कामप्रति सरकारको तर्फबाट आभार प्रकट गर्न चाहन्छु।’ मौलिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको पर्वले दिएको उमङ्ग र एकतालाई सन्देशका रुपमा ग्रहण गर्नुपर्ने उनको भनाइ थियो।
समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, काठमाडौँ उपत्यकाको नेवाः सभ्यताले नेपालको परिचय दिने भएकोले यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताए। ‘नेवाः सभ्यताभित्र परिचितमध्येको एक येयाँ पुन्ही अर्थात् इन्द्रजात्रामा गरिने हरेक सांस्कृतिक चाल चलनले सहरलाई जीवन्त देखाएका छन्।
यसैगरी निम्तालु हरुलाई हनुमानढोका दरबार क्षेत्र आसपासका सम्पदा क्षेत्र र हाँडीगाउँका सम्पदा क्षेत्रको अवलोकन भ्रमण गराइएको थियो। सम्पदा मार्गको यात्राका क्रममा मूर्त अमूर्त सांस्कृतिक सम्पदाका बारेका जानकारी गराइएको थियो। जुद्ध सालिकबाट सुरु भएको सम्पदा पद यात्रा काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, नरदेवी, किलागल, इन्द्रचोक हुँदै बसन्तपुर फर्किएको थियो।
त्यस क्रममा इन्द्र जात्रासँग सम्बन्धित सामाजिक तथा सांस्कृतिक गतिविधि, हिटी संस्कृति, पुलुकिसी घर, आकाश भैरव, देशेमरु झ्याःसहितका सांस्कृतिक गतिविधि अवलोकन गरिएको थियो। त्यस्तै मठमन्दिर, देवालय, चोक तथा यससँग जोडिएका घटनाका विषयमा जानकारी गराइएको थियो।
त्यस्तै, पाहुनाहरूलाई काठमाडौँ महानगरपालिकाले भक्तपुर नगरसँगको समन्वयमा भक्तपुर दरबार स्क्वायर, ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर अवलोकन भ्रमण गराएको थियो।
भ्रमणका अवसरमा भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिले, आफूसँग भगिनी सम्बन्ध भएका नगर प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई उपत्यकाका नगर हरुको भ्रमण गराउनु काठमाडौँ महानगरपालिकाको महत्वपूर्ण काम भएको उल्लेख गरेका छन्। यसले काम एउटै, जिम्मेवारी एउटै भएका पालिकाहरुको भौगोलिक, सामाजिक तथा सांस्कृतिक परिवेश बुझ्न सजिलो भएको उनको भनाइ थियो।
भक्तपुर नगरले सभा कक्षमा आयोजना गरेको स्वागत कार्यक्रममा संक्षिप्त धारणा राख्दै काठमाडौँ महानगरका प्रमुख साहले, पूर्वाधार निर्माण, जनजीविका र आर्थिक प्रवाहको स्थानीय व्यवस्थापनमा भक्तपुरबाट धेरै सिक्न सकिने बताए।
काठमाडौँ महानगरपालिकाले यस बर्ष कीर्तिपुरलाई पनि सम्झना ग¥यो। अवलोकन भ्रमणका क्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले, उपत्यकाको सभ्यतासँग जोडिएका महत्वपूर्ण स्थान र घटना कीर्तिपुरमा भएकाले यसको पृथक पहिचान भएको उल्लेख गरेका थिए।

