


शिरीष फाउन्डेसनद्वारा बक्सिङ खेलाडी सुष्मालाई आर्थिक सहयोग

काठमाडौं – बक्सिङकी उदीयमान खेलाडी सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापना भएको फाउन्डेसनले सुष्माको खेलमा सहयोग गर्न आर्थिक र खेल सामग्री सहयोग गरेको हो ।
सहयोग प्रायोजनसम्बन्धी सम्झौतापत्रमा आइतबार बक्सर सुष्मा र फाउन्डेसनकी कोषाध्यक्ष एवं शिरीषकी आमा सपना गुरुङले हस्ताक्षर गरे । फाउन्डेसनले खेलाडीद्वारा खेलाडीका लागि सहयोग कार्यक्रम अन्तर्गत फाउन्डेसनले सुष्मालाई सहयोग गरेको हो ।
सम्झौता अनुसार फाउन्डेसनले सुष्मालाई मासिक १५ हजार रुपियाँ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा लगाउने खेल पोशाक उपलब्ध गराउनेछ । यसैगरी सुस्माले गरेको उत्कृष्ट प्रदर्शनको आधारमा छुट्टै पुरस्कार पनि प्रदान गरिने उल्लेख छ ।
सम्झौता एक वर्षका लागि गरिएको हो । सहयोगको सम्झौता पछि सुष्माले सहयोगले खेल खेल्न थप प्रेरणा मिलेको भन्दै फाउन्डेसनलाई धन्यवाद दिए । फाउन्डेसनले यसअघि उशु खेलाडी निमा घर्तीमगरलाई पनि सहयोग गरेको थियो ।

