परराष्ट्र मन्त्री भन्छन्-तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको छ


काठमाडाैं – परराष्ट्र मन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । कोरोना संक्रमण फैलिएको कारण देखाएर लामो समयदेखि  बन्द रहेको नाका खुलाउने प्रयास गरिएको हो ।

आइतवार मन्त्रालयमा नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पदाधिकारी र व्यवसायीले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खड्काले बताए ।

उनले भने, ‘सहजरूपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षसँग पनि कुरा भइरहेको छ ।’ मन्त्री खड्काले दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने बताए ।

सोमवार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मङ्गलवार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उनीसँगको भेटमा नाका सञ्चालनको बारेमा पनि कुरा राख्ने उनले बताए ।

ज्ञापनपत्र बुझाएपछि नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्न नहुने बताए। उनले सरकारले चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताए ।

आइतवार हिमालपारि व्यापार सङ्घले सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । परराष्ट्र मन्त्रालयमा पुगेर नेता बस्नेतसहितका सङ्घका पदाधिकारी र व्यापारीले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया