युथ एग्री अवार्डबाट तनहुँका आले पुरस्कृत


भिमाद – तनहुँको भीमाद नगरपालिका–९ पाथार्दीका बाख्रापालक किसान शिव आले ‘युथ एग्री अवार्ड–२०२२’ बाट पुरस्कृत भएका छन् । साना किसान लघुवित्त वित्तीय संस्था र इजरायल राजदूतवासद्वारा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनलाई रु एक लाखसहित पुरस्कृत गरिएको हो ।

‘सिक र कमाउ’ कार्यक्रमको १०औँ वार्षिकोत्सवका अवसरमा कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह यादवले आलेलाई पुरस्कृत गरेका हुन् । विसं २०६८ देखि उन्नत बोयर जातका बाख्रापालन व्यवसाय गर्दै आएका आलेलाई जिल्लाका विभिन्न सङ्घसंस्थाले पनि यसअघि सम्मान तथा पुरस्कृत गरिसकेका छन् ।

साना किसानमार्फत अध्ययनका लागि इजरायल पुगेका किसानमध्येबाट आवेदन गरिएकामा नेपालभरिबाट तीन सय जनाले आवेदन दिएका थिए । उक्त आवेदन दिएकामध्ये २१ जना छनोट भएका थिए । अन्तिममा सात प्रदेशबाट एक–एक जनालाई पुरस्कृत गरिएको आलेले जानकारी दिए। गण्डकी प्रदेशबाट आले मात्रै पुरस्कृत भएका हुन् ।

भीमादको पाथार्दीमा बोर बाख्रापालनका लागि स्रोत केन्द्र स्थापना गरिएको छ । उक्त गाउँका ६० परिवार बाख्रापालन व्यवसायमा आवद्व छन् । आलेको फार्ममा हाल ५० माउसहित एक सय हाराहारीमा बाख्रा छन् । उनले गत वर्ष मात्रै रु २४ लाखको बाख्रा बिक्री गरेको बताए ।

प्रतिक्रिया