


अनियमितताको छानबिन नसकिँदै करारमा २ कार्यकर्ता राख्न उपकुलपतिलाई हतारो

काठमाडौं – शैक्षिक संस्था जस्तो पवित्र थलो अनियमितता र बेथितिको जालोमा रुमिलिएपछि प्रधानमन्त्री कार्यालयबाट त्यसको छानबिन नसकिँदै करारमा कार्यकर्ता भर्ती गर्न एक उपकुलपतिलाई हतार भएको छ ।
सँधै जसो अनेक उटपट्याङ काम गरेर बिबादमा छाइरहने सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले प्रधानमन्त्रीको कार्यालयबाट अनियमितताको छानबिन र अध्ययन भइरहेको बेला चुनावको मौकामा पार्टीका कार्यकर्तालाई जागिर खुवाउने षडयन्त्र गरेका छन् ।
उपकुलपति सिंहले मापदण्ड र प्रकृया नपुर्याइ विश्वविद्यालयमा आवश्यक पर्ने शिक्षक र कर्मचारी भर्नाको तयारी गरेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अध्ययन र छानबिन नसकिएसम्म जनशक्ति भर्ना गर्ने प्रकृया स्थगित गर्न निर्देशन दिएको थियो ।
निर्देशन बमोजिम विभिन्न विषय शिक्षक र कर्मचारी भर्ना गर्ने सार्वजनिक सूचना विश्वविद्यालयले भदौ ४ गते स्थगित गरेको थियो । तर, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मुखमा आएर उपकुलपतिले भित्र भित्रै करार सेवामा शिक्षक राख्ने योजना बनाएका छन् ।
करार सेवामा नेकपा एमाले निकटका भनेर चिनिएका नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष सूर्यमणी गौतमसहित २ जनालाई पत्रकारिता तथा आमसञ्चार बिषय अध्यापन गराउन भनी नियुक्तिको लागि तयारी भएको स्रोतले जनाएको छ ।
त्यसका लागि उपकुलपति सिंहले आमसञ्चार तथा पत्रकारिताका विषय विज्ञ पुराना प्राध्यापकहरुलाई पन्छाएर नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको केही समय प्रेस सल्लाहकार भएका कुन्दन अर्याललाई विज्ञको रुपमा काम गर्न जिम्मेवारी दिने तयारी गरेका छन् ।
पत्रकारिता तथा आमसञ्चार विषयका बरिष्ठ प्राध्यापकहरुलाई पन्छाएर ओलीले बिबादित र असफल भनी प्रेस सल्लाहकारबाट निकालेका अर्याललाई बिज्ञको रुपमा छनोट गरी २ पत्रकारिता विषयका शिक्षकमा करास सेवामा नियुक्त गर्ने योजना बनाएका छन् ।
उपकुलपति सिंहले त्यसका लागि विश्वविद्यालयका रजिष्ट्रार नारायण पौडेललाई समेत दबाब दिएको स्रोतले जनायो । एक साताअघि काठमाडौ आएका उपकुलपति सिंहले अर्याललाई भेट गरी जसरी पनि सूर्यमणी गौतमसहित २ जनालाई करास सेवामा छनोट गर्न दबाब दिएका छन्।
विषय विज्ञको रुपमा छनोट गरिएका अर्यालभन्दा बरिष्ठ प्राध्यापकहरू पी खरेल, चिरञ्जीवि खनाल, प्रवलराज पोखरेल, बद्रीप्रसाद पाैड्याल र निर्मलमणि अधिकारी भएकाे थाहा पाउँदा पाउँदै उपकुलपति सिंहले आफ्नो स्वार्थ अनुकुल बदनियत राखेर चुनावको मुखमै भए पनि करारमा नियुक्त गर्ने तानाबुना बनाएका छन् ।
उपकुलपति सिंहको अनावश्यक दबाबबाट विश्वविद्यालयका अन्य पदाधिकारी र प्राध्यापकहरु आजित भएको बताएका छन् । निर्वाचन आचारसंहिता छलेर भए पनि उनले आफ्नो स्वार्थ पूर्ती गर्न पुरानो मिति राखेर करास सेवामा नियुक्त गर्न खोजेका छन् ।

