

एकदिवसीय सिरिजमा नेपालको क्लिन स्वीप, केन्याविरुद्ध ६ विकेट

काठमाडौं – घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्लिन स्वीप गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हरायो ।
यससँगै नेपालले सिरिज ३-० ले जितेको छ । यसअघि नेपाल पहिलो खेलमा सात विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो । केन्याले दिएको दुई सय ५६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ४७.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालको जितमा जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धसतकीय इनिङ्स खेले । अर्जुनले ५८, आसिफले ५६ र वसिरले अविजित ५२ रन बनाए। यस्तै कप्तान रोहित पौडेलले अविजित ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । बलिङमा केन्याका भिराज पटेल, सेम एन्गोचे र याश तालातीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास एनडानडासनले अविजित ५९, सुखदिप सिंहले ३७, इमानुएल बुन्डीले २३ र कप्तान शेम एनगोचे १७ रन बनाए ।
बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई दुई विकेट लिए । वसिर अहमद र साहब आलमले एक एक विकेट झारे । यसअघि नेपालले केन्याविरुद्ध पाँच खेलको टी-२० सिरिज पनि ३-२ ले जितेको थियो ।

