


बङ्गलादेश सडक दुर्घटना : नौ जनाको मृत्यु, त्रिसट्ठी घाइते

ढाका – बङ्गलादेशको राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तरपश्चिममा अवस्थित रङपुर जिल्लामा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् ।
यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको हो । घटनास्थलमा पाँच जनाको ज्यान गएको रङपुर जिल्लाको तारापुञ्ज क्षेत्रका उपप्रमुख मोहम्मद रसेलले बताए । अन्य चार जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।
दुर्घटनामा केही यात्री गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।

