

७७ जिल्ला सभापतिलाई कांग्रेस मुख्यालयको पत्रः निर्वाचन कार्यक्रममा सहभागीता जनाउनू

काठमाडौं– नेपाली कांग्रेसको मुख्यालयले निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली अधावधिक कार्यक्रममा सहभागी हुनका लागि ७७ जिल्ला सभापतिलाई सर्कुलर जारी गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबारै सबै जिल्ला सभापतिहरूलाई पत्र पठाएर हुने भनिएको मध्यावधि चुनावमा सहभागी हुन भनेका छन्।
प्रतिनिधि सभा विघटन गरी १७ र २७ वैशाखका लागि सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनलाई आयोगले वैधानिकता दिँदै मतदाता नामावली अध्यावधिक गरिरहेको छ। सो काममा सहभागी हुन जिल्ला सभापतिमार्फत वडासम्म सर्कुलर गर्न भनेको छ।
कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध भन्दै देशका सबै स्थानीय तहका वडासम्म विरोधका कार्यक्रम गरेको थियो। त्यसलाई निर्वाचनको तयारीका रुपमा पनि बुझिएको थियो।
पौडेलले पठाएको पत्रमा आयोगले १५ माघदेखि २१सम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अध्यावधिक कार्यक्रममा सहभागीता जनाउनू भनी निर्देशन दिइएको छ। पत्रको बोधार्थ सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापति, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापति र सबै पालिका समितिका सभापतिलाई पनि पठाइएको छ।

