

महाअभियोग प्रकरणः तेस्रोदिनको बयान सकियो, अबको बयान २५ गतेपछि

काठमाडौं — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोगबारे आज तेस्रो दिनको बयान सकिएको छ। आफूमाथि लागेको महाभियोगका बारेमा बयान दिन उनी आज बिहान सिंहदरबार पुगेका थिए।
गत बुधवार र बिहीवार उनीमाथि लागेको महाभियोग छानबिन गर्न बनेको समितिले उनलाई विभिन्न प्रश्न सोधेको थियो। आज पनि त्यो क्रम जारी रह्यो।
तर, सवाल जवाफको कार्यतालिका लम्बिने देखिएपछि प्रक्रिया केही फेरिएको थियो। बुधवार र बिहीवार समितिका सदस्यले सोधेका एक प्रश्नको जवाफ तुरुन्तै जबराले फर्काउथे। तर आजबाट ४/५ वटा एउटै प्रश्न गरेपछि मात्र जवाफ दिने गरिएको थियो। समय धेरै लाग्ने भएपछि सवाल जवाफको ‘ट्रेन्ड’ परिवर्तन भएको हो।
समितिले जबरा ४३ वटा प्रश्न सोध्ने तयारी गरेको छ। दुई दिन उनीसँग मात्र ६ वटा प्रश्न सोधिएको थियो। आज उनलाई थप २ वटा प्रश्न सोधिएको छ। समितिले प्रश्न धेरै भएकोले प्रक्रिया छोट्याउने तयारी पनि थालेको छ।
जबराले आज भने सशस्त्र प्रहरीका पूर्व डीआइजी निरञ्जन कोइरालाको केस र न्यायलयभित्रको विलम्बको विषयमा प्रश्न गरिएको थियो। कोइरालको प्रश्नमा उनले न्यायधीशमा हुने विवेकको प्रयोग गरेको बताएका थिए। उनले आफूले विवेकको प्रयोग गर्दा कुनै गल्ती भए कसुर भोग्न सक्ने बताए।
अब चोलेन्द्रसँगको अर्को बयान २५ गते लिइने जनाइएको छ । आजसम्म ११ वटा प्रश्न सोधियो ।

