
बालेन भन्छन्, ‘प्रचलित कानुन र व्यवहारिक अभ्यासका विषयमा सबैको समान धारणा हुनुपर्छ’
काठमाडौं — महानगर सञ्चालनका प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । ‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’ मा नगर सभा सदस्यहरु र विभागीय प्रमुखहरु सहभागी छन् । २ दिने कार्यक्रममा कानुन, प्रशासन तथा वित्तिय व्यवस्थापनका कानुनी तथा व्यवहारिक बुझाइ समेटेर विषयगत प्रस्तुति तथा छलफल हुँदैछ ।
कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगर सञ्चालनका प्रचलित कानुन तथा व्यवहारिक अभ्यासका विषयमा सबैको समान बुझाइ हुनुपर्ने धारणा राखे। उनले भने, ‘एउटै विषयमा असमान धारणा निर्माण भयो भने त्यसले नतिजा ल्याउन चुनौती सिर्जना गर्छ । काठमाडौँ महानगरमा जनप्रतिनिधिको परिवार ठूलो भएकोले आपसी सम्बन्धलाई आत्मी बनाउन पनि कार्यक्रम आवश्यक छ । त्यसैले अभिमुखीकरण आयोजना गरिएको हो ।’

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, कार्यगत एकता र सहभागितामुलक विकास पद्धतिका लागि अभिमुखीकरणले योगदान गर्ने अपेक्षा गरिन् ।
सेवाग्राहीका अपेक्षा महानगरबाट नागरिकमा परावर्तन गराउन जनप्रतिनिधि र कर्मचारीको समान बुझाइमा जोड दिँदै प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले, राजस्वमा वृद्धि तथा बेरुजु फस्र्यौटमा प्राप्त भएको उपलब्धीलाई उदाहरणका रुपमा प्रस्तुत गरे ।
अभिमुखीकरणमा ‘सहरी सुशासन र जनप्रतिनिधि’, ‘अफिस अटोमेसन र विद्युतीय शासन’, ‘स्थानीय शासन र हाम्रा कानुन (संघ, प्रदेश र स्थानीय)’, ‘सार्वजनिक खरिद प्रक्रिया र कानुनी व्यवस्था’ विषयमा प्रस्तुति भएका थिए । यी विषयमा क्रमशः कृष्णहरि बास्कोटा, रोमकान्त पाण्डे, डा. चन्द्रकान्त ज्ञवाली र सुरेश प्रधानले प्रस्तुतिकरण गरेका थिए ।
यस्तै डा. पुरुषोत्तम डंगोलले, ‘भवन निर्माण संहिता, भवन मापदण्ड एवम् सार्वजनिक निर्माण विषयमा जान्नै पर्ने कुरा’ विषय प्रस्तुति गरेका थिए । त्यस्तै डिलाराम पन्थीले, ‘स्थानीय तहमा योजना तर्जुमा’ विषयक प्रस्तुति गरेका थिए ।
त्यस क्रममा जनप्रतिनिधिहरुले सेवा प्रवाह, नागरिकका अपेक्षा र सीमाका विषयमा प्रश्न राखेका थिए ।



कागजपत्र |
