चिनियाँ सभामुख ली झान्सु भदौ २७ गते नेपाल आउने


काठमाडौं – जनवादी गणतन्त्र चीनको नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष (चिनियाँ सभामुख) ली झान्सुले सेप्टेम्बर १२ मा तीन दिने भ्रमणका लागि काठमाडौं आउँदैछन् ।

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेको स्रोतले जनाएको छ । तर, भ्रमणको औपचारिक घोषणा नभए पनि स्रोतका अनुसार दुवै पक्षले भ्रमणको तयारी गरिरहेका छन् ।

ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली कच्याङपछि तेस्रो नम्बरमा छन् । नेपालमा रहँदा लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायत प्रमुख दलका नेताहरूसँग भेट गर्नेछन् ।

ली नेपाल आए भने ६ महिनाभित्र चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण हुनेछ । यसअघि मार्च महिनामा चीनका स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको भ्रमण गरी उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा कुराकानी गरेका थिए ।

जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आएका थिए । गत अगस्टमा नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले चीनको छिङदाओ भ्रमण गरेर आफ्ना समकक्षी वाङसँग भेटघाट गरेका थिए ।

आगामी मंसिर ४ मा आमनिर्वाचन हुन लागेको स्थितिमा वरिष्ठ चिनियाँ विधायकको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । चिनियाँ नेतृत्वले पहिलेदेखि नेपालका कम्युनिष्ट दलहरु त्यसमा पनि दुई ठूला दलहरु नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई चुनावी गठबन्धनका लागि प्रोत्साहन गर्दै आएको छ ।

अप्रिल २२ मा, लीले सापकोटासँग भर्चुअल कुराकानी गरेका थिए । त्यस समय दुबैले एकअर्कालाई ‘उपयुक्त समयमा आफ्नो देश भ्रमण गर्न निमन्त्रणा’ दिएका थिए ।

प्रतिक्रिया