प्राध्यापक थापा काठमाडौं विश्वविद्यलयको उपकूलपति नियुक्त


काठमाडौं – सरकारले काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्राध्यापक भोला थापालाई नियुक्त गरेको छ। उपकूलपतिका अर्का प्रत्यासी तथा केयू सिनेट सदस्य बालचन्द्र लुइटेलले थापाको नियुक्तिको पुष्टि गरेका छन्।

केयूको ८८ औं सिनेट बैठकले उपकूलपति छान्न सहकूलपति तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा छनोट समिति गठन गरेको थियो। उक्त समितिमा केयूको बोर्ड अफ ट्रष्टी प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकूलपति सुरेशराज शर्मा सदस्य थिए।

केयूको उपकुलपति बन्न ४४ जनाले आफ्नो वैयक्तिक विवरण शिक्षामन्त्री श्रेष्ठसमक्ष पेश गरेका थिए। उक्त समितिले ४४ जनाबाट तीन जनाको नाम केयूका कूलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेका थिए।

जसमा केयूका वर्तमान उपकूलपति रामकण्ठ मकाजु श्रेष्ठ, पूर्व रजिष्ट्रार भोला थापा र शिक्षा संकायका प्राध्यापक बालचन्द्र लुँइटेलको नाम सिफारिस गरेको थियो। सबैभन्दा बलियो सम्भावना बोकेका मकाजुलाई पन्छाउँदै सरकारले भोला थापालाई उपकूलपतिमा नियुक्ति गरेको हो।

थापा प्रजातन्त्रिक विचारधाराका प्राध्यापकका रुपमा स्थापित छन्।

प्रतिक्रिया