
हङकङलाई हराउँदै भारत एसिया कपको सुपर–४ मा प्रवेश
काठमाडौं- विराट कोहली र सूर्यकुमार यादवको अर्धशतकप्रेरित भारतले बुधबार राति हङकङलाई ४० रनले हराउँदै एसिया कपको सुपर–४ मा स्थान पक्का गरेको छ।
भारत समूह ‘ए’बाट विजेता बन्दै सुपर–४ मा स्थान बनाउन सफल भएको हो। भारतले यसअघि चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई हराएको थियो। पाकिस्तान र हङकङबीचको नतिजाले समूह ‘ए’को उपविजेता टिम टुंगो लाग्नेछ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हङकङले टस जितेर बलिङ गर्ने निर्णय लिएको थियो। त्यसपछि ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९२ रन बनाएको थियो। १९३ रनको लक्ष्य पछ्याएको हङकङले ५ विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो।
हङकङकका लागि बाबर हायतले सबैभन्दा धेरै ४१ रन बनाए। किनचित शाहले ३० रन बनाउँदा जीशन अली २६ र स्कट म्याकेक्नी १६ रनमा अविजित रहे। अजिज खान १४ र निजाकट खान १० मा आउट भएका थिए।
भारतका भुवनेश्वर कुमार, आर्शदीप सिंह, रविन्द्र जडेजा र आभाष खानले समान एक/एक विकेट लिए। त्यसअघि भारतका लागि सूर्यकुमारले २६ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए। उनले कोहलीसँग तेस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गरेका थिए । कोहलीले ४४ बलमा ५९ रन बनाए। कोहलीले एक चौका र तीन छक्का प्रहार गरे।
ओपनर केएल राहुलले २६ र कप्तान रोहित शर्माले २१ रन बनाए। हङकङका मोहम्मद जहाजनफर र आयुष शुक्लाले एक/एक विकेट लिए। हंङकङले अब शुक्रबार पाकिस्तानसँग खेल्नेछ।
एसिया कपमा आज बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’बाट अफगानिस्तानले समूह विजेता बन्दै सुपर–४ मा स्थान बनाइसकेको छ। बंगलादेश र श्रीलंकाबीचको नतिजाले समूह ‘बी’मा उपविजेता टोलीको टुंगो लाग्नेछ।
सुपर–४ को खेल राउण्ड रोबिन लिग पद्धतीमा खेलाइने छ। सुपर–४ को शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।



कागजपत्र |
