सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभको निधन


काठमाडौँ- पूर्वसोभियत नेता मिखाइल गोर्भाचेभको निधन भएको छ। रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा उनको मंगलबार निधन भएको हो। उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ‘गम्भीर र लामो समयदेखि बिरामी रहनुभएका मिखाइल गोर्भाचेभको मंगलबार राति निधन भएको छ।’

गोर्भाचेभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन्। जसले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएकासमेत थिए । तर उनले सोभियत युनियन ढल्नबाट बचाउन भने सकेनन्।

सन् १९८५ मा तत्कालीन सोभियत सत्ता सम्हालेका गोर्भाचेभले सुधारका प्रयास गरेका थिए। उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव थिए। सोभियत युनियनको पतनसँगै नै आधुनिक रुसको उदय भएको मानिन्छ ।

स्टालिनको शासनकालमा हुर्कंदै गरेका गोर्भाचेभले दोस्रो विश्वयुद्धको असरसमेत प्रत्यक्ष देखे। युद्धपछि मस्कोमा कानुनको पढाइ गरेका उनले कम्युनिस्ट पार्टीमा आफ्नो भविष्य खोजे। साम्यवादमा सुधारको आवश्यक रहेको बताउने गोर्भाचेभ खुलापन र परिवर्तनको पक्षपातीसमेत रहेको बताइन्छ। केही कम्युनिस्ट नेताले पश्चिमसँगको घनिष्ठ सम्बन्धकै कारण उनलाई अमेरिकाको एजेन्टसम्म भन्ने गर्थे।

 

प्रतिक्रिया