चौथो टी-२० खेलमा केन्यासँग नेपाल पराजित


काठमाडौं – केन्याविरुद्ध चौथो टी-२० खेलमा नेपाल पराजित भएको छ । जितका लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो ।

कमजोर ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ४७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपाललाई सस्तैमा समेट्न केन्याका रकिप पटेलले तीन विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले दुई दुई विकेट लिए ।

यसअघि नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनाएको थियो । केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए ।

कोलिन्स अबुयाले २० र कप्तान शेम एन्गोचेले १३ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेका थिएनन् ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच ५ विकेट बनाए भने आदिल अन्सारीले दुई तथा साहब आलम र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । नेपालको यस हारसँगै पाँच खेलको सिरिज २-२ को बराबरी भएको छ ।

नेपाल यसअघि पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । अब टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेल मंगलबार हुनेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।

प्रतिक्रिया