

एसिया कप : पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

काठमाडौं- भारतले एसिया कप २०२२ क्रिकेटमा पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए। जडेजाले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे। यता, कोहलीले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
यता, हार्दिक पान्ड्या १७ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे। भारतलाई अन्तिम १२ बलमा २१ रन चाहिएको थियो। १९औं ओभरमा हरिस रौफको बलमा हार्दिकले ३ चौकासहित कुल १४ रन जोड्दै जित नजिक पुर्याए।
अन्तिम ६ बलमा जितको लागि भारतलाई ७ रनको खाँचो थियो। स्पिनर मोहम्मद नवाजले पहिलो बलमा जडेजालाई बोल्ड आउट गरे। दोस्रो बलमा दीनेश कार्तिकले हार्दिकलाई स्ट्राइक दिएका थिए। तेस्रो बलमा नवाजले डट राखे। तर, चौथो बलमा हार्दिकले छक्का प्रहार गर्दै खेल जिताए।
भारतका सूर्यकुमार यादव १८ रन बनाए। यता, कप्तान रोहित शर्माले १२ रन बनाए। पाकिस्तानका मोहमद नवाजले सर्वाधिक ३ विकेट लिए। यता, शाहानवाज दाहानीले २ विकेट लिए। त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनायो।
पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए। उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यता, इफ्तिखर अहमेदले २२ बलमा २ चौका र १ छक्कासहित २८ रन जोडे। यता, शाहानवाज दाहानीले १६ रन बनाए।
कप्तान बाबर आजम, फखर जमान र शादब खान समान १० रन बनाएर आउट भए। हरिस राउफ १३ रन बनाए अविजित रहे। भारतका भुवनेश्वर कुमारले ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए। यता, हार्दिक पान्ड्याले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए।

