देउवाले फकाए रामचन्द्र पौडेलः प्रचण्ड–नेपालको लोभमा नफँस्ने


काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा विघटनमा पार्टीले लिएको लाइनमा फर्किएका छन्। आन्दोलनमा जानुपर्ने नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको प्रस्तावलाई अस्वीकार गरी नेपाली कांग्रेसको एजेन्डामा पौडेल अडिने भएका हुन्।

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने प्रचण्ड नेपालको प्रस्ताव भएपछि पौडेल आन्दोलनमा जानुपर्ने अडानमा थिए। तर, सभापति शेरबहादुर देउवाले निवासमा नै पुगेर अहिले पर्ख र हेरको नीतिमा रहेर चुनावमा जानुपर्ने पौडेललाई बताएका थिए।

‘प्रचण्डको चालमा नफँस्नुस् हिजो गिरीजाबाबुलाई पनि राष्ट्रपति बनाउँछु भनेर जाली कुरा गर्ने मान्छे हुन्। यसबेला नेपाली कांग्रेस चुनावमा जानु उपयुक्त हुन्छ। राष्ट्रपति कांग्रेसले बनाउने हो, प्रचण्डले होइन कुरा बुझ्नुस्’, देउवाले पौडेललाई सुझाएको उच्च स्रोतले जनायो।

मोर्चा बनाएरै आन्दोलनमा जानका लागि देउवासँग पनि प्रचण्ड–नेपालले प्रस्ताव गरेका थिए। तर अहिले अदालतमा विचाराधिन रहेको प्रतिनिधि सभा विघटनको विषयमा कुनै मोर्चाबन्दी र आन्दोलनमा नफँस्ने देउवाको भनाई थियो। प्रचण्डले त प्रतिनिधि सभा पुनःस्थापना भए बाँकी कार्यकालका लागि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव पनि फ्याँकेका थिए। ‘प्रचण्डको चाल सबैले बुझेका छन्, हामी अहिले यस्ता लोभममा होइन, नेपाली कांग्रेसको जगमा नै नयाँ राजनीतिक वातावरण बनाउनेछौं’, देउवानिकट एक नेताले भने।

प्रतिक्रिया