


डोजरसहित तयारी अवस्थामा बालेन टिम, आज कुन क्षेत्रमा जाँदैछन् त ?

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को टोली आज (शुक्रबार) पनि अनधिकृत संरचना भत्काउने तयारीमा छ ।
शुक्रबारका लागि बिहीबार नै योजना तयार भइसकेको मेयर सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जनाए । तर उनले कहाँ जाने भन्ने कुराको अहिले नै सार्वजनिक नगर्ने पनि जनाए ।
यसअघि अवैध संरचना हटाउन निर्देशन दिएका ठाउँमा आज डोजरसहित बालेन जानसक्ने सम्भावना रहेको महानगरका एक अधिकारीले बताए । यसअघि मेयर बालेनले शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको ट्रस्ट र नबिल बैंकको न्यूरोड शाखको अवैध संरचना आफैं हटाउन निर्देशन दिएका थिए ।
कोटेश्वरको ट्रष्ट कार्यालयको अवैध संरचना महानगरले बिहीबार नै हटाउन भनेको थियो । तर, बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना हटाउन थालेपछि कोटेश्वर पुग्न सकेको थिएन ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी प्रमुख डीआईजी मिरा चौधरी, मेयर बालेन नेतृत्वसहित नगरप्रहरीको टोली अवैध संरचना हटाउन लागि परेको छ । डीआईजी चौधरी उपत्यका ट्राफिक प्रमुखमा नियुक्त भएपछि बालेनले भेटवार्ता गरेका थिए । सो वार्ताले अन्डरग्राउण्ड पार्किङमा भएको अवैध व्यापारलाई हटाए उपत्यकाको सवारी जाम कम हुने निष्कर्ष निकालेको थियो ।

