

४६ औं राष्ट्रपतिका रुपमा आज सपथ लिँदै जो बाइडेन, ट्रम्प उपस्थित नहुने

काठमाडौं – आज २० जनवरी । औपचारिक रुपमा अमेरिकी नवनिर्वाचित ४६ औं राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिने दिन ।
अमेरिकी इतिहासमा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ। यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ। लगातार दुईपटक निर्वाचित भए केवल स्वागत मात्र हुन्छ। यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले आज राति १०ः४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन्।
शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ।
क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ। कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो। गत ६ जनवरीमा रिपब्लिकन पार्टीका समर्थकले क्यापिटल हिलमा गरेको हिंसात्मक गतिविधिपछि राष्ट्रपतिको शपथ कार्यक्रम सामान्य ढंगले हुन लागेको अमेरिकन एजेन्सीहरूले जनाएका छन्।
अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ। शपथ कार्यक्रममा हिंसात्मक गतिविधि हुन सक्ने आशंकाका साथ सुरक्षा व्यवस्था कडा बनाइएको एजेन्सीहरूले जनाएका छन्।
बाइडेनको शपथमा राष्ट्रपति ट्रम्प सहभागी नहुने भएका छन्। २० जनवरीको दिन राष्ट्रपतिको शपथ कार्यक्रममा भाग नलिने अहिलेसम्म अमेरिकामा तीनजना मात्र राष्ट्रपति थिए। ट्रम्प बुधबार क्यापिटल हिलमा नगए उनी शपथ कार्यक्रममा भाग नलिने चौथो राष्ट्रपति बन्नेछन्। सन् १८०१ मा जोन एडम, १८२९ मा क्विन्स एडम्स तथा १८६९ मा एन्ड्रयु जोनसन शपथ कार्यक्रममा गएका थिएनन्।
गत साता राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘म यो घोषणा गर्छु कि लोकतन्त्रको परम्परा तोड्न पछि पर्दिनँ।’ निर्वाचित राष्ट्रपतिलाई बधाई दिन आफू क्यापिटल हिलमा उपस्थित नहुने उनको भनाइ थियो। तर, उपराष्ट्रपति माइक पेन्स भने कार्यक्रममा सहभागी हुने भएका छन्। बाइडेनले पेन्सको निर्णयलाई बहादुरीको संज्ञा दिँदै स्वागत गरेका छन्।
शपथ कार्यक्रममा पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुस तथा उनकी श्रीमती लौरा बुस, बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामा तथा विल क्लिन्टन तथा श्रीमती हिलारी क्लिन्टन आउने एजेन्सीहरूले जनाएका छन्।
यसपटक शपथ कार्यक्रममा भाग लिने सांसदलाई दुईवटा मात्र टिकट दिइएको छ। उनीहरूले आफूसँगै एकजना पाहुनाका रूपमा ल्याउन पाउँछन्।

