
अल्फाबिटाको अनधिकृत संरचनामा महानगरले आजै डोजर चलाउने
काठमाडौ – काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना आजै भत्काउने भएको छ।
अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन जान लागेको काठमाडौंका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। ‘निरीक्षण गर्न जाँदा अल्फाबिटाका सञ्चालकले दाबी गरेको जस्तो देखिएन,’ उनले भने, ‘अब त्यो भत्काउन हामी जाँदै छौं।’
आज बानेश्वर शंखमुल क्षत्रमा अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।
अल्फाबिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन भनेका थिए। त्यस क्रममा शाहले अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्सा आफूसँग नभएको बताए। त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबीच चर्काचर्की परेको थियो।
काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।
बुधबार महानगरले काठमाडौं मल, आरबि कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काइएका थिए। त्यस्तै अरू विभिन्न ठाउँमा पनि अवैध संरचना भत्काउन निर्देशन दिएका छन्।



कागजपत्र |
