‘विशेष परिस्थिति’ भन्दै विद्यालय/कलेज बन्द, दाङमा टिप्परमा आगजनी, कैलालीमा प्रेसरकुकर बम फेला


काठमाडौं – नेकपा माओवादी विप्लव समूहले घोषणा गरेको नेपाल बन्दका कारण राजधानीबाहिर छिटफुट घटना घटेका छन् ।

घोषित बन्दका कारण विद्यालय तथा कलेजहरु बन्द रहेका छन् । राजधानीका विद्यालयहरुले औपचारिक रुपमा बिदा घोषणा नगरे पनि ‘विशेष परिस्थिति’ भन्दै विद्यालय बन्द गरिएको सूचना प्रवाह गरेका छन् ।

उपत्यकामा भने सवारी साधन चलिरहेका छन् ।

त्यस्तै बन्द भनिएकै दिन कैलालीका २ स्थानमा शंकास्पद बस्तु फेला परेको छ । भने दाङमा एक सवारीसाधनमा आगजनी गरिएको छ ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।

चार÷पाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरुको खोजि सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।

त्यसअघि नेकपा विप्लवसहितका साना चार दलले बन्दको घोषणा गर्दै सोमबार साँझ मसाल जुलुस निकालेका थिए ।

महँगी, भ्रष्टाचार नियन्त्रण र अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्दको घोषणा गरेको जनाएका थिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको विरोधमा राजधानीसहित देशभरका विभिन्न स्थानमा मसाल जुलुस निकालिएको थियो । उनीहरुले आजका लागि बन्दको घोषणा गरेकाले उपत्यकाबाहिर बन्दको प्रभाव परेको छ ।

प्रतिक्रिया