जनकपुर-जयनगर रेल : भारतीय धार्मिक पर्यटक बढ्दै


काठमाडौं – जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो ।

वि.सं. २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ गरेका थिए । वि.सं. २०७१ देखि रेल मार्ग स्तरोन्नति गर्न भन्दै भारतले रेल सेवा पूर्ण बन्द गरेको थियो । गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरुलाई सहज बनेको छ । साथै, नेपालबाट भारत जाने र आउनका लागि पनि रेल मार्ग सहज बनेको यात्रुहरुको भनाइ छ ।

रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुरहुँदै भारत जाने र आउनेहरुका लागि यातायातको सेवा व्यवस्थित बनेको उनीहरु बताउँछन् । त्यस्तै, अर्की भारतीय पर्यटक सुमन भिवाले नेपालमा घुम्न आउँदा रमाइलो महशुस भएको बताइन् । उहाँले रेलको यात्रा पनि धेरै सहज र राम्रो रहेको प्रतिक्रिया दिइन् ।

पहिला धेरै समस्या हुने गरेपनि अहिले रेल सञ्चालनमा आएपछि भने धेरै सहज बनेको बताउनु भयो । त्यस्तै, भारतीय यात्रु सरिताकुमारीले नेपाल र भारत रेल्वे सेवा सञ्चालनका कारण धेरै सुविधा थपिएको बताईन् । उनले दिनमा दुईपटक मात्रै चल्ने भएकोले केही समस्या भएको र अब यो संख्यालाई बढाएर लैजानुपर्ने आवश्यक्ता रहेको बताउनुका साथै रेल चल्दा समयसँगै पैसाको पनि बचत हुने बताइन् ।

रेलमा बसमा भन्दा धेरै सुविधा हुने र परिवारसहित यात्रा गर्दा रेल नै उपयुक्त हुने उनको भनाई छ । यात्रु रञ्जुकुमारी देवीले रेल सञ्चालन भएपछि यात्राका लागि राम्रो भएको बताइन् । त्यस्तै, भारतको बिहारका रामकृष्णले रेल सञ्चालनपछि काठमाडौंको पशुपतिनाथ आउँदा सहज भएको र अन्य धार्मिक स्थलको भ्रमणका लागि यात्रा गर्न सहज जानकारी दिए ।

रेल सञ्चालनपछि समयको बचत भएको र सेवा पनि राम्रो रहेको बताएका हुन् । त्यस्तै भारतबाट घुम्नका लागि नेपाल आएका यात्रु विभाकर कुमारले नेपालमा रेलबाट आउँदा छिटो भएको र घुम्न पनि रमाइलो भएको बताए । त्यस्तै, अर्का भारतीय यात्रु बलरामकुमारले रेलको यात्रा धेरै राम्रो भएको र समयको पनि बचत भएको बताए । उनले पशुपति घुम्न आउन रेल सञ्चालनले धेरै सहज बनाएको र पशुपतिनाथ मन्दिर धेरै राम्रो लागेको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै, टिकट विक्रेता सन्तुकुमार यादवले यात्रुहरुको चाप बढीरहेको बताएका छन् । उनले रेलहरु अझै थपेर दिनमा जतिसक्दो धेरैपटक रेल सञ्चालन गर्दा अहिलेको चापलाई धान्न सकिने बताए । उनले भारतबाट आउने यात्रु लगभग ४५ प्रतिशत हाराहारीमा रहेको र अन्य यात्रु भने स्थानीय रहेको बताएका छन् । उनले यात्रुहरुले पनि दिनमा तीनदेखि चार पटक रेल ओहोरदोहोर गरेमा सहज हुने प्रतिक्रिया दिइरहेको बताए ।

रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा बिस्तार गरेर स्पिड टेस्ट गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज बिस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो ।

सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विविध कारण देखाएर रेल चलाउन अलमल हुँदै आएको थियो । तर गत वर्षको चैत्रबाट रेल पुनः सञ्चालनमा आएसँगै नेपाली र भारतीय नागरिकलाई आवतजावतमा सहज भएको छ ।

प्रतिक्रिया