सोमवारदेखि लेटाङमा लगाइएको कर्फ्यू खुकुलो


विराटनगर – मोरङको लेटाङमा सोमवारदेखि लगाइएको कर्फ्यू खुकुलो बनाइएको छ । जिल्ला सुरक्षा समितिको मंगलवार बसेकाे बैठकपछि  कर्फ्यू खुकुलो बनाइएको हो । बिहान १०-४ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशिराज दाहालले बताए ।

लेटाङ नगरपालिकाले सर्वदलीय बैठक राखेर कर्फ्यू खुकुलो बनाउन सहजीकरण गरिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाएको थियो । आइतवार साँझ महिला प्रहरीको ज्यान जाने गरी भएको आन्दोलनपछि कर्फ्यू लगाइएको थियो ।

सोमवार बिहान ७ बजेदेखि अर्को निर्णय नहुञ्जेलसम्मका लागि भन्दै लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको थियो । छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कालोमोसो दलेर गाउँ घुमाउने माग राख्दै स्थानीय तथा विद्यार्थीले आन्दोलन गरेपछि विवाद चर्किएको हो ।

गाउँमै घटना मिलाउनका लागि प्रयास गरिएपछि भीड बढ्दै जाँदा आन्दोलनले उग्ररूप लिएको थियो । भीड अनियन्त्रित हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । आरोपी शिक्षकलाई पक्राउ गरेर प्रहरीले लगेपछि घटनास्थलमा रहेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए । आक्रमणमा २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका थिए ।

प्रतिक्रिया