
नाम सच्याएर ‘कुकुर कामी’ले पाए नागरिकताको प्रतिलिपि
दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-३ मेहेतोलीका कविराम कामीले ‘कुकुर कामी’ हटाएको नयाँ नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन् । कविरामले नाम सच्याई पाउ भनेर निवेदन दिएको केहि दिनपछि उनलाई जिल्ला प्रशासन कार्यालय दैलेखले नागरिकताको प्रतिलिपि उपलब्ध गराएको हो ।
गृह मन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी सबै जिल्ला प्रशासन कार्यालयलाई नाम थर सच्याउन नागरिकताको प्रतिलिपि दिन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले त्यसै आधारमा कविरामको नाम सच्याएर प्रतिलिपि उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
२०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली गएको बेलामा कविरामको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ उल्लेख गरिएको थियो । कविरामलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन् । नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासन कार्यालय दैलेख पुगेका थिए ।



कागजपत्र |
