


तोकिएको ड्युटीमा नबस्ने चिकित्सकलाई कारबाही हुन्छ : स्वास्थ्यमन्त्री

विराटनगर – स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले जिम्मेवारी पूरा नगर्ने स्वास्थ्यकर्मीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । कोशी अस्पतालको निरीक्षण गर्दै खापुङले बिरामीहरूको उपचारमा ध्यान नदिई आफ्नो डियुटि पूरा नगरी हिँड्ने स्वास्थ्यकर्मीहरूलाई अनुगमन गरेर कारबाही गर्ने बताए ।
‘सरकारी अस्पतालमा बसेर बिरामीको सेवा गर्नुपर्छ’, उनले भने, ‘सरकारले तोकेको समयसम्म बसेर सेवा दिनुपर्छ, समयसम्म काम गरेको नगरेको अनुगमन गरेर कानूनी कारबाही पनि गर्नुपर्ने हुन्छ ।’ उनले सरकारी अस्पतालमा जागिर खाएर निजी स्वास्थ्य संस्थामा उपचार गराउन पठाउनेहरूलाई पनि कारबाहीको दायरामा ल्याइने उनले बताए।
अस्पतालको गेट अगाडि धेरै डाक्टरहरूको क्लिनिक रहेको र कोशीमा आएका बिरामीलाई त्यही उपचार गर्न पठाउने गरेको भन्दै मन्त्री खापुङले त्यस्ता गतिविधि रोक्नसमेत निर्देशन दिए । उनले त्यस्ता निजी स्वास्थ्य संस्थाको अनुगमन गरेर कोशीमा उपलब्ध सेवा बाहिरबाट लिनु नपर्ने बनाउने बताए ।
यस्तै उनले कोशी अस्पतालको ओपीडी भवनको माथिल्लो तलामा सर्जरी वार्डको उद्घाटनसमेत गरेका छन् । सर्जरी विभागमा चारवटा अप्रेसन थियटरसहित ५० शय्या रहेको कोशी अस्पतालका सर्जरी विभाग प्रमुख डा. रबि बस्ताकोटीले जानकारी दिए ।
यसअघि सर्जरी विभाग कोशी अस्पतालको पुरानो गाइनो वार्डको भवनमा रहेको थियो । गाइनो, सर्जरीको अप्रेसन थियटर पनि सँगै रहेको थियो । जसले गर्दा सेवा प्रभाहमा कठिनाइ हुने गरेको थियो । अहिले गाइनो र सर्जरी विभाग छुट्टाछुट्टै बनाइएको छ । यसअघि सर्जरी विभागमा ३६ बेड रहेको थियो ।

