

नाभाल्नीलाई ३० दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं – रुसी अदालतले विपक्षी नेता अलेक्सी नाभाल्नीलाई ३० दिन हिरासतमा राख्न आदेश दिएको छ। मस्कोनजिकैको एक प्रहरी स्टेशनमा स्थापना गरिएको अदालतले नाभाल्नीलाई हिरासतमा राख्न आदेश दिएको हो।
गत वर्ष विष दिएर हत्या प्रयास गरिएपछि उपचारपछि स्वदेश फर्किएका बेला उनलाई आइतबार राति पक्राउ गरिएको थियो। अदालतको सुनुवाइपछि उनले रुसी सरकारविरुद्ध आन्दोलन गर्न आफ्ना समर्थकलाई आव्हान गरे।
युट्युबमा राखिएको भिडियोमा उनले नडराई सडकमा उत्रन आव्हान गरेका छन्। उनले भनेका छन्, ‘मेरालागि भन्दा आफू र आफ्नो भविष्यका लागि सडकमा उत्रनुहोस्।’ रुसी अधिकारीहरुले उनले सन् २०१४ मा दिइएको जेल सजायको नियम उल्लंघन गरेको आरोप लगाएका छन्। तर उनले २०१४ मा आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा जेल सजाय दिइएको बताउँदै आएका छन्।
एजेन्सी

