

बस र अटो ठोक्किँदा ३ को मृत्यु, १ घाइते

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ ।
चन्द्रपुर—२ लच्का नजिकै काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ जाँदै गरेको बस र वीरगञ्ज जाँदै गरेको अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।
बिहान करिब साढे ४ बजेतिर बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठक्कर खाएका हुन्।
दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनाको ज्यान गएको जनाइएको छ । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्।
दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सविना लुंगेलीको चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगन्ज पठाइएको छ ।
प्रहरीले बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरू गरेको छ ।

