राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा प्रदिप हुमागाईं नियुक्त


काठमाडौं – प्रदिप हुमागाईं राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले आगामी असोजमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि हुमागाईंलाई कार्यवाहक प्रशिक्षक तय गरेको एन्फाका एक सदस्यले जानकारी दिए ।

नेपालले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हाल बिदामा आफ्नै देश कुवेतमा रहेकोले एन्फा कार्यसमिति बैठकले कार्यवाहक तोकेको हो । एकदशक अघि थ्री स्टारबाट प्रशिक्षकको रुपमा ए डिभिजन लिग जितेका हुमागाईं हाल अमेरिकामा छन् र विभिन्न एकेडेमीमा प्रशिक्षण दिँदै आएका छन् ।

गत जुनमा कुवेतमै भएको एएफसी एसियन कप छनोटका क्रममा मैदानमै ढलेका उनी तीन महिनाका लागि बिरामी बिदामा बसेका थिए ।कुवेतमै रहँदा उनले मैत्रीपूर्ण खेलका लागि भन्दै २६ खेलाडीको सूची एन्फामा पठाएका थिए ।

तर केही दिनअघि एन्फाले अल्मुताइरीलाई पठाएको पत्रको जवाफ नआएको भन्ने खबर सार्वजनिक भएपछि अल्मुताइरीले आफूले पत्र नै नपाएको र के जवाफ दिने भन्ने आशयसहित कडा स्ट्याटस लेखेका थिए ।

उनले एन्फाको पत्रकार बारेमा आफूले कानूनी सल्लाहकारसँग छलफल पनि गररिरहेको बताएका थिए । त्यसैले तत्काल अलमुताइरी नेपाल आउनेमा आशंका रहेकाले एन्फाले उनको विकल्पमा कार्यवाहक खोजेको हो ।

खेलाडी र प्रशिक्षकको विवादबारे छानबिन गरेको समितिले एसियन कप छनोटपछि अल्मुताइरीको विकल्प सोच्न सुझावसहितको प्रतिवेदन एन्फामा बुझाएको थियो ।

प्रतिक्रिया