जबराविरुद्धको महाभियोगमाथि भाेलिदेखि अध्ययन सुरु हुने


काठमाडाैं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ ।

समिति सचिवालयका अनुसार उपत्यका बाहिर रहेका समिति सदस्यहरू काठमाडौँ फर्किइसकेका छन् । ‘शुक्रबार प्रतिनिधि सभाको बैठक छैन । यसकारण पहिलो बैठक शुक्रबार नै राखौँ भन्ने भएको छ । तर, कुन समयमा बस्ने तय गर्न बाँकी छ,’ समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।

१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, काँग्रेसकी तत्कालीन सचेतक पुष्पा भुसाल र एकीकृत समाजवादीका तत्कालीन प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक भई प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।

महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रतिनिधि सभाले २२ फागुनमा संविधानअनुसार महाअभियोग सिफारिस समिति बनाएको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

बिजनेस पाएको पाँच दिनपछि महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्न लागेको हो । पहिलो बैठकमा समितिको आन्तरिक कार्यविधि बनाउने र पारित गर्ने, संयोजक चयन गर्ने लगायतका कार्य प्राथमिकतामा पर्नेछ । साथसाथै शुक्रबारदेखि नै महाअभियोगमाथि समितिले आवश्यक अध्ययन सुरु गर्नेछ ।

बढीमा ३ महिनाको समय पाउने भए पनि ४ मंसिरमा तोकिएको प्रदेश र प्रतिनिधि सभाको चुनावमा कारण सिफारिस समितिले पुरै तीन महिना भने नपाउने भएकाे छ ।

 

प्रतिक्रिया