बारामा अवैध मदिराका १७ वटा भट्टी नष्ट


बारा – प्रहरीले बारामा १७ वटा अवैध मदिराका भट्टीहरू नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले आपराधिक गतिविधि न्यूनीकरण गर्न, घरेलु हिंसा, दुर्घटना नियन्त्रण लगायत निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत अवैध घरेलु मदिरा उत्पादन भट्टी कारखाना नियन्त्रण गरिएको जानकारी दिए ।

बुधवार प्रहरी निरीक्षकसहित ४५ जनाको प्रहरी टोलीले बाराको महागढीमाई नगरपालिका-३ र १० गञ्जभवानीपुर टोलमा स्थानीय प्रतिनिधिको उपस्थितिमा कारवाही गरेको हो ।

‘अवैध रूपमा पक्की घरभित्र १०-१२ हजार लिटरभन्दा बढी भण्डार गर्न सकिने पक्की अन्डरग्राउन्ड ट्यांकीहरू निर्माण गरी अस्वस्थकर र न्यून गुणस्तरको रक्सी उत्पादन गर्न लुकाइछिपाई सञ्चालन गरिरहेका १७ वटा अवैध भट्टीहरू नष्ट गरिएको छ,’ डीएसपी थापाले भने, ‘सो क्रममा तयारी मदिरा १० हजार लिटर, कच्चा पदार्थ ८० हजार लिटरभन्दा बढी र ठूलो परिमाणमा न्यून गुणस्तरको रक्सी उत्पादन गर्न प्रयोग भएका मशिन, भाँडाकुँडा, ड्रमहरू लगायतका सामग्री समेत नियन्त्रणमा लिइएको छ ।’

अवैध मदिराको सम्बन्धमा थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया