

बंगलादेशमा ५० प्रतिशतभन्दा बढीले इन्धनको मूल्यवृद्धि

काठमाडाैं – सरकारले मुलुकमा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढी वृद्धि गरेपछि बंगलादेशभर विरोध प्रदर्शन भएको छ । इन्धनको मूल्यमा एक्कासी अत्यधिक वृद्धि भएको भन्दै विरोधमा बंगलादेश विद्यार्थी महासंघ लगायतका केही विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका ढाका ट्रिब्यूनले जनाएको छ ।
यसैबीच प्रगतिशील विद्यार्थी गठवन्धनले पनि छुट्टै विरोध र्याली आयोजना गरेको छ । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम मानिसहरूको दिनचर्या कठिन बनेको छ । सार्वजनिक सम्पत्तिमा सरकारले गरेको दुरुपयोगले मानिसहरूलाई यस संकटतर्फ पुर्याएको छ,’ प्रदर्शनमा सहभागीमध्येका एक विद्यार्थीलाई उदृत गरी ढाका ट्रिब्यूनले लेखेको छ ।
यसबाहेक ढाकाका थुप्रै बसहरूले आइतवार यात्रुहरूबाट अत्यधिक भाडा लिइरहेका बताइएको छ । तथापि बंगलादेश जत्री कल्याण समिति (बीजेकेएस) ले इन्धनको बढ्दो मूल्यका कारण बस भाडावृद्धिमा हालै भएको वृद्धिलाई अस्वीकार गर्दै ‘उचित लागत मूल्यांकन’पछि नयाँ बस भाडा निर्धारण गर्नुपर्ने बताएको छ ।
बंगलादेशी प्रकाशनले ढाका इलेक्ट्रिक सप्लाई कम्पनी लिमिटेड (डेस्को) अन्तर्गतका क्षेत्रका उपभोक्ताले आइतवार ३ घण्टा विद्युत् भार कटौतीको सामना गरेका छन् । शुक्रवार रातिदेखि लागू हुने गरी सरकारले डिजेलको मूल्य प्रतिलिटर ३४–४६ टाकासम्म बढाएको हो ।
शुक्रवार मूल्यवृद्धिको समाचारसँगै ढाकाको मोहमदपुर, अगरगाँव, मालीबाघलगायतका क्षेत्रका थुप्रै स्टेसनले इन्धन वितरणलाई रोकेका र मध्यरातदेखि वृद्धि भएको मूल्यमा बिक्री पुनः शुरू हुने घोषणा गरेका ढाका ट्रिब्यूनले जनाएको थियो ।

